
Screenshot
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउनसक्ने बताएका छन्।
बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले शनिबार छलफल गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलाई गुण्डु बोलाएका थिए। त्यहाँ उनले मध्यरातसम्म पुनर्गठन कार्यदलको बैठकमा भएको छलफलबारे जानकारी लिएका थिए।
नेताहरूको बिफ्रिङ सुनिसकेपछि अध्यक्ष ओली विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति आक्रामक सुनिएको एक नेताले बताए।
‘महासचिव लोभी बनेको अध्यक्ष ओलीको निष्कर्ष थियो। पुनर्गठन अभियान चलाएर उपाध्यक्ष विष्णु पौडेलले पनि पाप गरिरहेको अध्यक्षले बताउनुभयो,’ ती नेताले भने।
पदमा लोभिएर महासचिव पोखरेलले उपाध्यक्ष पौडेललाई साथ दिइरहेको बताउँदै यो अभियान निष्कर्षमा नपुग्ने ओलीले सुनाएका थिए।
‘उनीहरू (पौडेल–पोखरेल) जसरी हुन्छ मलाई गलहत्याउने, हटाइहाल्ने अभियानमा छन्। उनीहरूले पार्टी नै फुटाउन पनि सक्छन्? मलाई हटाउन त कारण चाहिएला नि? के कारणले हटाउने! मैले के अपराध गरेको छु र हटाउने!,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले सुनाए।
भदौ २३ र २४ गतेपछि उपाध्यक्ष विष्णु पौडेलले पार्टी, तत्कालीन सरकारको काम, नेतृत्वको बचाऊ र प्रतिरक्षामा एक शब्द पनि नखर्चेको, आफूले लेख्नुस् भनेर बारम्बार आग्रह गर्दा पनि सुनेको नसुन्यै गरेको, कतै नबोलेको र अहिले पुनर्गठनको नेतृत्व गरिरहेको भन्दै ‘पापी’ को संज्ञा दिएको अर्का एक केन्द्रीय सदस्यले बताए।
‘यसबीच न उहाँले पार्टीको पक्षमा, नेतृत्वको पक्षमा लेख्नुभयो। अहिले हटाउने रे! जेनजीहरूले मेरो घर जलाए, सम्पत्ति आगो लगाए त्यसकारण त्यसको भागिदार मै हुनुपर्ने हो कि? कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो, फिर्ता ल्याउनुपर्छ भन्दै छु, यही भएर हटाउने रहेछ कि? के अपराध रहेछ त मलाई नहटाइ नहुने?,’ ओलीले भनेका थिए।
गुण्डु बैठकको सुरूआतमा प्रदेश अध्यक्ष कैलाश ढुंगेलले कार्यदलसँगको छलफलबारे बिफ्रिङ गरेका थिए। उनीलगत्तै काभ्रे जिल्ला सचिव राजकुमार सापकोटाले कार्यदलसँगको बैठकको अन्तिममा उपाध्यक्ष विष्णु पौडेलले भनेको प्रसंग त्यहाँ सुनाएको थिए।







