सहकारीको बचत रकम अपचलन प्रकरणमा लामो समयदेखि फरार रहँदै आएका जितेन्द्र बाबु (जीबी) राईले एक अज्ञात स्थलबाट विज्ञप्ति जारी गरेका छन्। उनले आफूलाई पक्राउ गर्दैमा बचतकर्ताको रकम फिर्ता नहुने टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई उक्त प्रकरणमा जोड्न नहुने आग्रह गरेका छन्।
​
गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको सम्पूर्ण जिम्मेवारी आफ्नो मात्रै भएको स्पष्ट पार्दै राईले भनेका छन्, ‘गोर्खा मिडिया नेटवर्क मेरो हो, सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन र समाधानको जिम्मेवारी पनि मेरो हो।’ कर्मचारी वा अन्य व्यक्तिहरूको अभिलेख राख्ने क्रममा कागजातको दुरुपयोग भएको हुन सक्ने भन्दै उनले अनावश्यक रूपमा अरूलाई मुछ्न नहुने बताएका छन्।
​ग्यालेक्सी टेलिभिजनलगायत केही कम्पनीमा सहकारीको रकम लगानी गरिए पनि कोभिड–१९ पछिको आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्र बिग्रिएर कम्पनीहरू धराशायी भएको उनको दाबी छ।
बचतकर्ताको रकम र ब्याज सुनिश्चित गर्न निजी कम्पनीमा लगानी गरिएको भए पनि अपेक्षित प्रतिफल नआएको उनले स्वीकार गरेका छन्।
​आफू जीवनभर लुकेर हिँड्न नचाहेको उल्लेख गर्दै राईले आफन्त र शुभेच्छुकहरूको सहयोगमा केही जग्गाजमिनको व्यवस्थापन गरिसकेको र सोही सम्पत्ति तथा वैकल्पिक उपायमार्फत बचतकर्ताको रकम फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका छन्।
उनले सरकारलाई शक्ति-संयन्त्र प्रयोग गरेर आफूलाई खोज्नुभन्दा समस्या समाधानको योजना ल्याएमा स्वदेश फर्किएर कानुनी प्रक्रिया सामना गर्न तयार रहेको समेत बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार