जर्मनीको राजधानी बर्लिनमा आइतबार भएको निर्वाचनमा मानवअधिकार अभियन्ता तथा टर्की मूलकी राजनीतिज्ञ एलिफ एरलापले ऐतिहासिक सफलता हासिल गरेकी छन् । उनको जितसँगै उनी आप्रवासी पृष्ठभूमि भएकी बर्लिन राज्यकी पहिलो सरकार प्रमुख -गभर्निङ मेयर) बन्ने सम्भावना बढेको छ ।

उनको समाजवादी पार्टी …द लेफ्ट पार्टीले कुल मतको २५.७ प्रतिशत प्राप्त गरेको छ । यो तीन वर्षअघिको निर्वाचनमा प्राप्त मतभन्दा दोब्बरभन्दा बढी हो । यसै वर्षको वसन्त ऋतुसम्म पार्टीको समर्थन मध्य–किशोर प्रतिशत अर्थात् १५ प्रतिशत आसपास मात्रै थियो । तर निर्वाचनमा एकाएक भएको मतवृद्धिलाई एरलापले बर्लिनवासीको विश्वास जितेको र शहरको जनभावना समेट्न सफल भएको संकेतका रूपमा हेरिएको छ ।

आइतबार राति उत्साहित समर्थकहरूलाई सम्बोधन गर्दै एरलापले भनिन्, ”बर्लिनवासीहरू, धन्यवादÛ तपाईंहरूले हामीमाथि विश्वास गर्नुभयो। आज हामीले मिलेर इतिहास रचेका छौँ। अबदेखि हामी मिलेर बर्लिन परिवर्तन गर्नेछौँ ।”

उनले घृणामाथि प्रेम र न्यायको जित भएको पनि बताइन् ।

पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका टिप्पणीकार र समर्थकहरूले एरलापको राजनीतिक उदयलाई सन् २०२५ मा न्यूयोर्कका मेयर निर्वाचित भएका जोहरान मम्दानीसँग तुलना गर्दै आएका छन् । एरलापले पनि आफ्नो चुनावी अभियानका क्रममा यो तुलनालाई स्वीकार गरेकी थिइन् ।

निर्वाचन हुनुभन्दा केही दिनअघि अनादोलु समाचार संस्थासँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘म्यानह्याटन र न्यूयोर्कमा जे सम्भव भयो, त्यही कुरा बर्लिनमा पनि सम्भव हुने आशा गर्छु । मम्दानीले जनताका सामाजिक मागलाई केन्द्रमा राखेका थिए। हामीले पनि त्यही गरिरहेका छौँ । उनले विभिन्न समुदायलाई एक ठाउँमा ल्याउन सफल भए, जुन ठूलो उपलब्धि थियो। हामी पनि त्यही प्रयास गरिरहेका छौँ ।’

मम्दानीलेजस्तै एरलापले पनि आफ्नो चुनावी अभियानमा आम नागरिकले दैनिक जीवनमा भोगिरहेका आर्थिक समस्यालाई मुख्य मुद्दा बनाइन् । बढ्दो घरभाडा, सार्वजनिक यातायातको महँगो खर्च र सडक तथा फोहोर व्यवस्थापनमा देखिएका समस्यालाई उनले प्राथमिकतामा राखिन् ।

उनको पार्टीले विभिन्न टोल र बस्तीमा घरदैलो अभियान सञ्चालन ग¥यो । आप्रवासनविरोधी धारणा राख्ने ‘अल्टरनेटिभ फर जर्मनी’ पार्टीको प्रभाव रहेका निर्वाचन क्षेत्रहरूमा समेत उनीहरूले अभियान चलाउन छाडेनन् ।

एरलापले नगरपालिकाको स्वामित्वमा रहेका आवासहरूको भाडा नियन्त्रण गर्ने, गैरकानुनी रूपमा घरभाडा बढाउने घरधनीमाथि कारबाही गर्न राज्यस्तरीय कार्यालय स्थापना गर्ने तथा ठूला आवास कम्पनीहरूलाई सार्वजनिक स्वामित्वमा ल्याउने पुरानो योजनालाई पुनर्जीवित गर्ने प्रस्ताव अघि सारेकी छन् ।

उनले लेफ्ट पार्टीको नेतृत्वमा सरकार बनेमा सामाजिक पृष्ठभूमि वा आर्थिक अवस्थाको भेदभाव नगरी सबैका लागि बर्लिनलाई बस्न सकिने र किफायती शहर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

आप्रवासी परिवारदेखि बर्लिनको राजनीतिसम्म

एरलापका अभिभावक सन् १९८० मा टर्कीमा भएको सैनिक विद्रोहपछि जर्मनी आएका थिए । सन् १९८१ मा जर्मनीको म्युनिखमा जन्मिएकी एरलापले आफ्नो बाल्यकाल डर्टमुन्ड र ह्याम्बर्गमा बिताइन्। उनी पछिल्लो १६ वर्षदेखि बर्लिनमा बस्दै आएकी छन् ।

बाल्यकालमै अन्याय र विभेदको अनुभव गरेपछि आफूले कानुन विषय अध्ययन गर्ने निर्णय गरेको उनले बताउँदै आएकी छन्। सन् १९९० को दशकमा जर्मनीमा आप्रवासी समुदायलाई लक्षित गरी भएका दक्षिणपन्थी अतिवादी हिंसाका घटनाले आफूलाई गहिरो प्रभाव पारेको उनको भनाइ छ ।

त्यही अनुभवले उनलाई मानवअधिकारको क्षेत्रमा काम गर्न प्रेरित ग¥यो । उनले जर्मनीको संघीय संसद् -बुन्डेस्टाग) मा लेफ्ट पार्टीको संसदीय समूहका लागि कानुनी नीति सल्लाहकारका रूपमा काम गरिन् ।

सन् २०१७ मा उनी लेफ्ट पार्टीमा आबद्ध भइन् भने सन् २०२१ मा बर्लिनको राज्य संसद्मा निर्वाचित भइन् । उनले लामो समयदेखि विभेदविरुद्ध आवाज उठाउँदै आएकी छन् । आप्रवासी पृष्ठभूमि भएका नागरिकलाई पनि मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने उनको माग रहँदै आएको छ ।

एरलाप अहिले पनि भाडाको अपार्टमेन्टमा बस्छिन् । उनले वर्षौंदेखि नयाँ घर खोजिरहे पनि पाउन सकेकी छैनन् । घरधनीहरूले आफ्नो टर्की मूलको थरका कारण घर भाडामा दिन अस्वीकार गरेका हुन् कि भन्ने प्रश्नमा उनले आफूलाई थाहा नभएको बताएकी छन् । किनभने जर्मनीमा घरधनीले भाडामा दिन अस्वीकार गर्नुको कारण खुलाउनुपर्ने बाध्यता छैन ।

AFD को दक्षिणपन्थी उदयविरुद्ध राजनीतिक प्रतिरोध

दुई साताअघि स्याक्सोनी–आन्हाल्ट राज्यमा दक्षिणपन्थी अतिवादी पार्टी बम् ले उल्लेखनीय सफलता हासिल गरेपछि एरलापले आफूलाई त्यसको राजनीतिक विकल्पका रूपमा प्रस्तुत गरिन् ।

बर्लिनमा लेफ्ट पार्टीको जितले बम् को बढ्दो प्रभावविरुद्ध राजनीतिक मोड ल्याउने उनको तर्क थियो । त्यस निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्, ‘म स्याक्सोनी–आन्हाल्टको निर्वाचनको जवाफ हुँ ।’

आप्रवासी पृष्ठभूमि भएकी महिला बर्लिनको सरकार प्रमुख बन्नु र शरणार्थीलाई दोष दिनुको सट्टा सामाजिक अन्यायका वास्तविक कारणमाथि बहस गर्नु आफैँमा बलियो राजनीतिक सन्देश हुने उनको भनाइ थियो ।

उनले जर्मनीका चान्सलर फ्रिडरिख मर्जको नेतृत्वमा रहेको रूढिवादी क्रिस्चियन डेमोक्रेटिक युनियनको पनि कडा आलोचना गरिन् । CDU ले AFD सँग मिल्दोजुल्दो दक्षिणपन्थी धारणा अपनाएको र जनताका मुख्य समस्यालाई सम्बोधन गर्न नसकेको उनको आरोप छ ।

धेरै नागरिकले आफूहरूको आवाज सत्तामा पुगेका नेताहरूले नसुनेको महसुस गरिरहेको उनले बताइन् । उनका अनुसार आम नागरिकको बुझाइ यस्तो छ—’माथि बसेकाहरू आफूखुसी गर्छन् र जनताको कुरा सुन्दैनन् ।’

सामाजिक अवस्था खस्किँदै जाने डरले केही मतदाताहरू विरोधको मत दिइरहेका छन् र त्यस क्रममा गलत रूपमा शरणार्थीलाई दोष दिने प्रवृत्ति बढेको उनको विश्लेषण छ ।

उनले भनिन्, ‘हामी अहिले जुन समस्यामा छौँ, त्यसका लागि शरणार्थीहरू जिम्मेवार छैनन्। यसको कारण सामाजिक क्षेत्रमा हुने खर्च कटौती गर्ने र सबैभन्दा गरिब तथा कमजोर समुदायलाई सहयोग नगर्ने नवउदारवादी नीति हो ।’

एरलापकाअनुसार लेफ्ट पार्टी नै यसको विकल्प हो । पार्टीले घरभाडा वृद्धिविरुद्ध नयाँ उपाय, भाडावाललाई शोषण गर्ने ठूला रियल इस्टेट कम्पनीमाथि नियन्त्रण र सबै सामाजिक तथा जातीय पृष्ठभूमिका नागरिकका लागि सस्तो आवास उपलब्ध गराउने नीतिलाई प्राथमिकता दिनेछ ।

प्यालेस्टाइन आन्दोलन, गाजा र अभिव्यक्ति स्वतन्त्रता

एरलापले प्यालेस्टाइन समर्थक आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको मुद्दालाई पनि आफ्नो राजनीतिक पहिचानको महत्त्वपूर्ण हिस्सा बनाएकी छन् ।

उनले बर्लिनका निवर्तमान सरकार प्रमुख काइ वेग्नर नेतृत्वको CDU गठबन्धन सरकारले प्यालेस्टाइन समर्थक कार्यक्रमहरू रद्द गरेको तथा शान्तिपूर्ण प्रदर्शनकारीमाथि अनुपातहीन प्रहरी बल प्रयोग गरेको आरोप लगाएकी छन् ।

उनले भनिन्, ‘बर्लिनका मेयरले यहाँ रहेका प्यालेस्टिनी जनताका समस्यालाई कहिल्यै सुन्न चाहेनन् । यो ठूलो गल्ती हो। हामीले जनतामाथि धेरै हिंसा र दमन भएको देख्यौँ । म यो सबै रोकिनुपर्छ भन्ने चाहन्छु ।’

एरलाप इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार र त्यहाँका दक्षिणपन्थी मन्त्रीहरूको खुलेर आलोचना गर्दै आएकी छन् । उनले गाजामा भएका युद्ध अपराधको पनि निन्दा गरेकी छन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले नेतान्याहुविरुद्ध जारी गरेको पक्राउ पुर्जीबारे सोधिएको प्रश्नमा उनले नेतान्याहु बर्लिन आएमा पक्राउ गर्न आफूले पहल गर्ने बताएकी थिइन् ।

हालैको एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘नेतान्याहुलाई पक्राउ गरिनुपर्छ र उनले गरेका अपराधका लागि अन्तर्राष्ट्रिय अदालतसमक्ष जवाफदेही बनाउनुपर्छ ।’

उनले आफ्नो पार्टीमाथि लाग्ने गरेको यहुदीविरोधी -एन्टिसेमिटिज्म) आरोपलाई पनि अस्वीकार गरेकी छन् । उनका अनुसार पार्टी यहुदी समुदायको जीवन रक्षाका साथै प्यालेस्टिनी तथा मुस्लिम समुदायको सुरक्षाको पक्षमा छ । इजरायल र प्यालेस्टाइन दुवैलाई अस्तित्वमा रहने अधिकार रहेको पार्टीको धारणा छ ।

उनको तर्कमा नेतान्याहु सरकारको गाजामा भएका युद्ध अपराधको आलोचना गर्नु यहुदीविरोधी हुनु होइन । उनले आफ्नो राजनीतिक जीवनभर यहुदीविरोधी गतिविधिविरुद्धका अभियानमा सहभागी भएको पनि बताएकी छन् ।

गठबन्धन सरकारको चुनौती ः मम्दानीसँगको तुलना अब व्यवहारमा परीक्षण

निर्वाचनको रात एरलापले ऐतिहासिक जित हासिल गरे पनि त्यसले उनलाई स्वतः बर्लिनको मेयर बनाउँदैन । अब उनको सबैभन्दा ठूलो चुनौती चुनावी अभियानमा गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सक्ने गठबन्धन सरकार निर्माण गर्नु हो ।

स्पष्ट अग्रता हासिल गरे पनि लेफ्ट पार्टीले पूर्ण बहुमत प्राप्त गर्न सकेको छैन । सरकार गठन गर्न उसलाई कम्तीमा दुई अन्य दलको समर्थन आवश्यक पर्नेछ ।

CDU को नीतिविरुद्ध चुनावी अभियान चलाएकी एरलापका लागि सबैभन्दा सम्भावित विकल्प मध्यवामपन्थी सोसल डेमोक्रेटिक पार्टी (SPD) र वातावरणवादी ग्रीन पार्टीसँग तीनदलीय गठबन्धन निर्माण गर्नु हो ।

यहीँनेर उनको जोहरान मम्दानीसँग गरिएको तुलना वास्तविक परीक्षामा पर्नेछ ।

अबको राजनीतिक बहस एरलापले गठबन्धन वार्ताका क्रममा आफ्नो पार्टीका प्रमुख चुनावी प्रतिबद्धता कति जोगाउन सक्छिन् भन्नेमा केन्द्रित हुनेछ । किनभने सम्भावित गठबन्धनका अन्य दलहरू लेफ्ट पार्टीका सबै राजनीतिक तथा आर्थिक एजेन्डासँग सहमत छैनन् ।

एरलापले आफ्नो पार्टीको कार्यक्रमकै कारण निर्वाचनमा जित हासिल भएको बताउँदै आएकी छन् । त्यसैले घरभाडा सस्तो बनाउने र सामाजिक न्याय सुनिश्चित गर्ने विषय कुनै पनि गठबन्धन सम्झौताको अनिवार्य हिस्सा हुनुपर्ने उनको अडान छ ।

तर गठबन्धनका सम्भावित साझेदारहरूले लेफ्ट पार्टीले आफ्ना कुन एजेन्डा छाड्न तयार हुन्छ भन्ने प्रश्न उठाउने निश्चित छ ।

गठबन्धन निर्माणका क्रममा एरलाप कति लचिलो हुन्छिन् र उनका प्रमुख चुनावी प्रतिबद्धतामध्ये कति कार्यान्वयन हुन्छन् भन्ने कुराले नै मम्दानीसँग गरिएको तुलना केवल चुनावी प्रचारको नारामा सीमित रहने हो वा वास्तविक राजनीतिक उपलब्धिमा परिणत हुने हो भन्ने निर्धारण गर्नेछ ।

यसको राजनीतिक सन्देश

एरलापको उदय केवल एक आप्रवासी पृष्ठभूमिकी नेतृको चुनावी सफलता मात्र होइन । बढ्दो घरभाडा, आर्थिक असमानता, सामाजिक सुरक्षामा कटौती र आप्रवासनविरोधी दक्षिणपन्थी राजनीतिबीच उनले सामाजिक न्यायलाई राजनीतिक एजेन्डाको केन्द्रमा राखेकी छन् ।

न्यूयोर्कमा जोहरान मम्दानीको उदय र बर्लिनमा एरलापको सफलताबीच देखिएको समानताले पश्चिमा शहरहरूको राजनीतिमा वर्गीय मुद्दा, आवास संकट र बहुसांस्कृतिक पहिचानको महत्त्व बढ्दै गएको संकेत गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार