चीनको छोङछिङमा जारी पाँचौ छोङछिङ सांस्कृतिक औद्योगिक मेलामा नेपाली खाना र हस्तकलाले पर्यटकलाई आकर्षित गरेको छ। बिहीबारदेखि सुरु भएको चारदिने मेलामा नेपालका नेपाली पस्मिना, थाङ्का र हस्तकलाका सामाग्रीसँगै खानाका परिकारका ४३ वटा स्टल छन्।

मेलामा नेपालले दोश्रो पटक सहभागिता जनाएको हो। यस पटकको मेलाको विशेषताका रुपमा नेपाली खानेकुरालाई प्राथमिकतामा राखिएको छ। नेपाली खानामा मासुभात, आलु-जिरा, मःमः लगायतका परिकार चिनियाँ उपभोक्तामाझ प्रस्तुत गरिएको छ। दक्षिण एसियाली राष्ट्रसहित अष्ट्रेलिया, नेदरल्याण्ड, अमेरिका, हङ्गेरी लगायत देशका व्यवसायीहरु मेलामा सहभागी छन्।

नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराईका अनुसार नेपाली वस्तु र उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गर्न र परिचय दिलाउन यो मेला उपयोगी भएको छ। उनले भने, ‘पहिलो पटक राखिएका नेपाली उत्पादनको परिचय दिलाउन यो मेलाले ठूलो सहयोग पुर्‍याएको छ।’

चीनको राजधानी बेइजिङ, थ्यानचिन, साङ्घाईसँगै केन्द्र शासित अर्को नगरपालिका छोङछिङमा नेपाली विद्यार्थीको संख्या केही मात्रामा बढी भए पनि नेपाली व्यापारीहरुको उपस्थिति भने कमै छ। छोङछिङका उपभोक्ता धेरै बार्गेनिङ नगर्ने खालका भएकाले पनि उत्पादन बेच्न सहज भएको त्यहाँ पुगेका व्यवसायीहरु बताउँछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार