सिंगो मुलुक दसैँमय भइसकेको छ । नेपाली समाजले ‘महान् चाड’को संज्ञा दिएको बडादसैँलाई राज्यका विभिन्न निकायले संस्थागत रुपमै मनाउने गरेका छन् । त्यस्तोमा नेपाली सेनाले दसैँ नमाउने कुरै भएन ।

अरुको सुविधाका लागि खटिने संगठन भएकाले दसैँमा जंगी अड्डाले आफ्ना कर्मचारीलाई थप ड्युटीका लागि स्ट्यान्डबाइ राख्दै बिदा सीमित बनाउने भएको छ । ‘हामीले गर्दै आएको कामलाई बाधा नपर्नेगरी बिदा मिलाएर सैनिक कर्मचारीलाई दसैँ मान्न पठाउँछौं,’ सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले भने, ‘अरुको सेवाका लागि खटिने हुनाले यस्ता चाडपर्वमा हामी अझै सजग रहन्छौँ, बिदालाई सीमित बनाएर थप ड्युटी स्ट्यान्डबाइ राखेका छौँ ।

हनुमानढोकास्थित मूल कोतमा संगठनको तर्फबाट जमरा राखेको नेपाली सेनाले सबै ब्यारेकमा जमरा उमारिसकेको छ । नवमीका दिन मौलो र निशान पूजा गर्ने परम्परा रहेको सेनाका हरेक युनिटले त्यस्तो पूजालााई निरन्तरता दिँदै आएका छन् । महाअष्टमीको बेलुका कालरात्रि पूजा गर्ने नेपाली सेनाले सप्तमीको दिन फूलपाती भित्र्याउने परम्परालाई विशेष दिनका रुपमा व्याख्या गर्ने गरेको पाइन्छ ।

fulpati-2-768x483

नेपाल एकीकरण र फूलपातीको

दसैँको सातौँ दिन नेपाली सेनाको गुर्जु पल्टनले गोरखा दरबारबाट पहरा दिएर ल्याएको फूलपाती हनुमानढोकास्थित दसैँघरमा भित्र्याउने गरिन्छ । यो दिनलाई नेपाली सेनाले ऐतिहासिक महत्वका रुपमा व्याख्या गर्ने गरेको छ । केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानको बोट, हलेदो, माने, कचुर र अशोकको पात आदिका नयाँ पालुवालाई फूलपातिका रुपमा शुभसाइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा भित्र्याउने गरिन्छ ।

हिन्दु परम्पराअनुसार शक्तिदायिनी दुर्गा भवानीको चरणकमलमा फूलपाती चढाइ हर्ष प्रकट गर्दै बडाइँ गरिने परम्परा आमहिन्दुको मौलिक संस्कृतिका रुपमा रहेको छ । जसलाई नेपाली सेनाले सालिन्दा सैनिक मञ्च टुँडिखेलमा आराधनाको प्रतीकात्मक प्रस्तुतिका रुपमा राइफल र तोपबाट बडाइँ गरेर जीवन्त राख्दै आएको छ । यसपटक पनि टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने फूलपाती बडाइँ कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी सहभागी हुने सैनिक प्रवक्ता कार्कीले जानकारी दिए ।

फूलपाती बडाइँलाई नेपाली सेनाले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडेर हेर्ने गरेको पाइन्छ । १८२५ मा काठमाडौँ उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले यसैलाई देशको राजधानी बनाउने निधो गर्दै गोरखा दरबारबाट सिधै हनुमानढोका दरबारमा फूलपती भित्र्याएर बडाइँ गर्ने प्रचलन सुरु गरेका थिए । त्यतिबेलादेखि सेनाले सुरु गरेको फूलपाती बडाइँ यसपटक पनि भव्य रुपमा गरिने प्रवक्ता कार्कीले बताए ।

फूलपाती लिनका लागि हनुमानढोका दरबार हेरचाह अड्डाको टोली छादिङको छत्रेदेउरालीसम्म पुग्छन् । उता, गोरखा दबारबाट फूलपाती बोकेर आउने टोलीले हेरचाह अड्डाको टोलीलाई छत्रेदेउरालीमा फूलपाती हस्तान्तरण गर्छन् । फूलपाती जमल ल्याएपछि नेपाली सेनाको सैनिक ब्यान्ड, शार्दूलजंग गुल्म, आशागुर्जा टोली, निजामती कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको लावालस्करले हनुमानढोकास्थित दसैँघरमा लगेर भित्र्याउँछन् । त्यसमा नेपाली सेनाको विशेष भूमिका रहने गरेको छ ।

‘फूलपातीको अघिल्लो दिन ब्राह्मण, मगर र नेवार समुदायको टोली फूलपाती लिन छत्रेदेउराली जान्छन्,’ हनुमानढोकास्थित हेरचाह अड्डाकी प्रमुख सरस्वती सिंहले भनिन्, ‘मगरले बोकेको फूलपाती दसैँघरमा विशेष पूजा गरेर भित्र्याइन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार