यहाँका अधिकांश भगवतीमाईको मन्दिरमा दलित जातिका स्थानीयवासीलाई प्रवेश गर्न दिइँदैन ।
भगवतीमाईको मन्दिर छोएमा अनिष्ट हुने र देवी रिसाउने भन्ने गलत मान्यताका कारण यहाँका दलित जातिले मन्दिर छुन नपाएका हुन् । दलित जातिका मानिसले भगवतीमाईलाई ल्याएका फलफूल, जमरा, अन्य प्रसादका सामग्री ब्राह्मणले चढाउने चलन छ ।
अन्य जातिका मानिसले भगवतीमाईको मन्दिरमा सहज रुपमा ध्वजा, प्रसाद आफैँ चढाउन पाए पनि दलित जातिका लागि भने ब्राह्मण वा माथिल्लो जातिका मानिसको सहारा लिनुपर्ने बाध्यता रहेको सक्ला–२ का रामबहादुर विकले बताए ।
जिल्लाका २६ गाविस र एक नगरपालिका समेतका दलित जातिलाई भगवतीको मन्दिरमा आफैँ पूजा, फलफूल चढाउन नदिएको पाइएको छ ।
पुरानो पुस्ता विगतदेखिको चलन मान्न तयार देखिए पनि नयाँ पुस्ताले यस्ता गलत संस्कारको अन्त्यको माग गरेको स्थानीय सक्लाका दिलबहादुर नेपालीले गरे ।
माईको मन्दिरमा दमाहा बजाएर दमार्इँ जातिका मानिसले शोभा बढाउने काम गरे पनि मन्दिरमा पूजाआजा गर्न भने पाउँदैनन् । रासस







