हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल एयरलाइन्स काउण्टरमा गत आइतबार ‘चेक इन’ गर्ने यात्रुको निकै लामो लाइन थियो। झण्डै दुई सय मिटरको लाइन हङकङका अन्य एयरलाइन्स काउण्टरहरूमा सायदै देखिने गर्छ, जुन नेपालको झण्डा बोक्ने नेपाल एयरलाइन्स (आरए) मा दशैँको भिडमा मात्र होइन, सामान्य दिनमा पनि हुन्छ।
ठूला लगेज ट्रलीमा हालेर लामो लाइन बस्ने प्रायः यात्रुको हातमा नेपाली पासपोर्ट नै हुन्छ, चिनियाँ र अन्य विदेशी त फाट्टफुट्ट मात्र देखिने हुन्। त्यसमाथि ब्यापारिक सामानका झोला नेपाल पठाउन काउण्टर नै घेरा हालेर बस्ने झुण्डले हङकङमा आरएलाई अस्तव्यस्त एयरलाइन्सको पहिचान दिएको छ। जहाज ‘अन टाइम’ नहुनु त आरएका यात्रुका निम्ति सामान्य नै हो।
सायद आरएका विदेशी यात्रुले चाहीँ हङकङ विमानस्थलबाटै नेपालको भद्रोगोल अवस्था सामना गर्न थाल्छन्।
तर लामो समयदेखिको आरएको यो खराब पहिचान संभवतः अब विगत बन्दैछ। यो खराब तस्बिर विस्तारै फेरिँदै गएको भान हुन्छ हङकङमा र, त्यस्तो सुधारमा संलग्न आरए टिमको नेतृत्व गर्दैछिन्, हङकङ म्यानेजर सुप्रिया तुलाधर।
आइतबार साडीमा सजिएकी सुप्रिया आरएका काउण्टरहरूमा आफ्ना सहकर्मीसँग दशैँको भीड व्यावस्थापन गर्दै थिइन। सातामा तीन दिन, जब आरएको एयरबस काठमाडौँबाट हङकङका लागि ‘टेकअफ’ गर्छ, आरएका हङकङ विमानस्थल म्यानेजर प्रविन राजभण्डारी, फाइनान्स म्यानेजर धन महत क्षेत्रीसहित सुप्रियाको टिम हार्वर सिटिस्थित कार्यालयबाट बस चढेर विमानस्थल आइपुग्छ।
‘वाह, साडीमा कति राम्री देखिएकी है?’, इकोनोमी क्लासबाट विजनेश क्लास काउण्टरमा पुगेकी सुप्रियालाई त्यहाँ चेक इन गर्दै गरेकी एक महिला यात्रुले प्रशंसा गरिन्। चिनजानकी मित्रको प्रशंसाले केही लजाएको भावमा सुप्रियाले आफैँलाई तलदेखि माथिसम्म नियालिन्।
‘आज साडीमा आएको, अलि फरक लागिरहेको छ’, त्यही पलको तस्बिर लिन खोज्दा उनले थपिन्, ‘साडी लगाएको फोटो लिने र?’
हुन पनि लाइनमा उभिएका करिब आधा यात्रु नेपाली महिला नै थिए, जसमा साडी पहिरिएका एक जना देखिएनन्। त्यसपछि छेउमा उभिन आएकी सुप्रिया आरएको सुधारदेखि ‘वुमन इम्पावरमेन्ट’ सम्म कुरा गर्न तयार भइन्।
‘म भन्दाअघि पनि हङकङमा एक जना महिला कन्ट्री म्यानेजर थिइन, म दोस्रो महिला हो’, आत्मविश्वासका साथ मुस्कुराउँदै सुप्रियाले थपिन, ‘अहिले मलेसियाको क्वाललाम्पुरमा पनि महिला नै म्यानेजर छिन्, अन्त जे भए पनि आरएमा चाहीँ वुमन इम्पारमेन्ट भएको छ।’
सुप्रिया यसरी हङकङ विमानस्थलमा देखिन थालेको एक वर्ष भयो, अर्को एक वर्ष उनी यहीँ आरएको काउण्टरमा घुमिरहेकी हुनेछिन्। महावाणिज्यदूतपछि हङकङमा आरएको म्यानेजर नै नेपालको अर्को प्रतिनिधि हो, जसले विभिन्न सामाजिक इभेण्टमा संलग्न हुनुपर्छ।
झन् सुप्रियालाई त हङकङमा नेपालीले आयोजना गर्ने महिला इम्पावरमेन्ट सम्बन्धी हरेक इभेण्टमा आमन्त्रण गरिन्छ। हङकङका नेपालीबीच एक किसिमले ‘सेलिब्रिटि’ नै बनेकी छिन् सुप्रिया।
अघिल्लो साता उनले हङकङबाट दशैँमा नेपाल जाने यात्रुको भीड आरएले कसरी व्यावस्थापन गरिरहेको छ भनेर स्थानीय रेडियोमा अन्तर्वार्ता दिएकी थिइन। हङकङ आएको एक वर्षमा आफुले एनएको छवि बदल्ने प्रयास गरिरहेको र त्यसको परिणाम देखिन थालेको उनको दावी थियो।
एक वर्षमा त्यस्तो के परिवर्तन भयो आरएको हङकङ काउण्टरमा जसले सुधारको संभावना देखाएको छ?
सुप्रिया भन्छिन्, ‘अब यात्रु आफैँ लाइन बस्नुपर्छ र समयमै काउण्टरमा जान सकिन्छ, व्यापारिक सामान पठाउनेले काउण्टर अगाडि बसेर अरुको पासपोर्ट होल्ड गर्न सक्दैनन्।’

हेर्दा यो निकै सामान्य कुरा भएपनि हङकङमा आरएको छविमा सुधार ल्याउने एउटा महत्वपूर्ण प्रयास हो। सुप्रिया भने यो सुधारको जस आफ्नो टिमलाई दिन्छिन्, ‘एक जना यात्रुले यति लगेज लैजान पाउने वा काउण्टरमा चेक इन गर्न लाइन बस्नुपर्ने नीति पहिलेदेखि नै थियो, हाम्रो टिमले त्यसलाई विस्तारै लागू गर्दै गएको मात्र हो।’
अर्को सुधार भने ‘अन टाइम’ जहाज अराइभल र डिपार्चर हुन थाल्नु हो, जुन नेपाल एयरलाइन्सको सम्पूर्ण सुधारसँग जोडिएको छ।
‘जहाज अहिले अन टाइममा छ, जसले गर्दा अरु एयरलाइन्समा गएको यात्रु पनि फर्केर आउन थालेका छन्’, नेपाल एयरलाइन्सको निरन्तर सुधारबारे सुप्रिया भन्छिन्, ‘अबको तीन महिनाभित्र अनलाइन टिकट लिन मिल्ने व्यवस्था पनि हुँदैछ।’
हङकङबाट हरेक महिना चारदेखि पाँच हजार यात्रु काठमाडौँ उड्छन्। तीमध्ये करिब एक हजार पाँच सयले आरए प्रयोग गर्छन्, अरु हङकङकै ड्रागन एयर र मलेसियन एयरलाइन्सबाट काठमाडौँ पुग्छन्।
आरएले अहिले हङकङ, दुबई, दोहा, क्वाललाम्पुर, बैँकक, मुम्बै, बंगलोर, दिल्ली उडानमध्ये हङकङमा सबभन्दा राम्रो विजनेश गरिरहेको छ। तर हङकङबाट काठमाडौँ उड्ने आधा यात्रु पनि आरएले किन बोक्न सक्दैन?
ड्रागन र मलेसियन एयरलाइन्सका जहाज ठूला छन्, जबकी आरएले अहिले एक सय ५६ सिटको एयरबस उडाइरहेको छ। ‘हङकङमा साताको तीन वटा फ्लाइट छन्, तर जहाज सानो भएकाले चाहेर पनि धेरै यात्रु बोक्न सकेका छैनौँ’, सप्रियाले भनिन्।
अहिले दशैँको बेला त यो सानो जहाज झन् ठूलो चुनौती बनेको छ। दशैँमा हङकङबाट नेपाल उड्ने यात्रुको चापले गर्दा अक्टोबर २ र ९ मा अतिरिक्त फ्लाइटको व्यावस्था गरिए पनि नेपाल उड्न नपाउने धेरै छन्। टिकट किन्न जाने यात्रु खाली हात फर्कनु परेपछि ‘नेपाली यात्रु पन्छाएर चिनियाँ पर्यटक बोकेको’ आरोप समेत आरएमाथि लाग्दैछ।
नेपाल पर्यटन बोर्डमा रहेर पर्यटन प्रवद्र्धनबारे अनुभव संगालेकी सुप्रिया भने ‘फस्ट कम फस्ट सर्भ’ नीति अनुसार नै आरएले यात्रुलाई महत्व दिएको बताउँछिन्। भूकम्प लगत्तै नेपालमाथि लगाएको ‘रेड अलर्ट’ हङकङ सरकारले हटाएपछि अहिले नेपाल जाने चिनियाँ पर्यटक बढेको बताउँदै सुप्रियाले थपिन, ‘तर हाम्रो ७० प्रतिशत यात्रु अहिले पनि नेपाली नै हुन्।’
सानो जहाजले निम्त्याएको अर्को ठूलो समस्या हो, लगेज व्यावस्थापन। बोइङबाट एयरबसमा सरेपछि आरएले प्रति यात्रु लगेजको तौल ३० किलोबाट घटाएर २५ बनायो। यात्रुले गह्रौँ लगेज नल्याउनु भनेर अतिरिक्त लगेजमा प्रति किलो ६० बाट बढाएर ८० हङकङ डलर तिर्नु पर्ने व्यवस्था गरियो।
तर अझै पनि अतिरिक्त लगेज र ‘ओभर वेट’ को समस्या यथावत छ र प्रायः फ्लाइटमा लगेज ‘अफ लोड’ हुने गरेको छ।
‘त्यसैले हामी वाइड बडी एयर बसको तीब्र प्रतिक्षामा छौँ, जसले लगेज व्यावस्थापन गर्न सहज होस्’, सरकारी उल्झनप्रति संकेत गर्दै सुप्रिया भन्छिन्, ‘बजेट भाषणमा आइसकेको नयाँ जहाज ल्याउने विषय त फेरि लेख्नु पर्दैन होला।’
हङकङका नेपालीलाई दशैँ मान्न नेपाल जाने व्यवस्था गर्नमै व्यस्त आरएको टिम भने दशैँमा पनि हङकङमै रहनेछ। सुप्रिया भन्छिन्, ‘दशैँमा नेपालमा आफ्नो परिवारसँग हुनुको आनन्द बेग्लै हुन्छ तर यसपाली हामी यतै हुन्छौँ, किनकी अष्टमीको दिन र टिकाको दिन पनि जहाज उडाउनु छ।’
सुप्रिया तुलाधरलाई हङकङमा आफ्नो बद्लिएको लाइफ स्टाइलबारे कुरा गर्न अहिले समय छैन, किनकी आइतबार पनि उनलाई जहाज ‘अन टाइम’ उडाउनु थियो।







