उनी बेलाबेला देशका कुनाकुना पुग्थे र मानिसहरूबीच आफ्नो उपस्थिति जीवन्त भएको सन्देश दिन्थे। स्वास्थ्य, शिक्षा, अनिकाल, बाटोघाटो जस्ता आम जनताका चासोका विषयमा आफूलाई पनि जोड्दै लग्थे। आफ्नै अग्रसरतामा अस्पताल र कृषि फार्महरूको स्थापना गराउँथे। ग्रामीण भेगका सामान्य मानिससँग पनि उनी त्यत्तिकै नजिकिन्थे र सहरका सम्भ्रान्तसँगको सम्बन्धलाई पनि सुदृढ गरिराख्थे। राजनीतिक शक्तिको अभ्यास कम गरेजस्तो देखिए पनि उनी जनजीवनका सरोकारहरूमा निरन्तर संलग्न भइरहन्थे। उनको निरन्तरको यही प्रयासले थाइल्यान्डमा राजतन्त्र त्यहाँको केन्द्रीय संस्था बन्दै गयो।
सन् १९६० को दशकमा जतिबेला कम्बोडिया, भियतनाम, लाओसजस्ता छिमेकी देशमा क्रान्तिको उभार चलिरहेको थियो, त्यो रापतापको प्रभावबाट जोगिन उनले सैनिक शक्तिसँग अँगालो मारेका थिए, जसले गर्दा आन्तरिक रूपमा राजसंस्था र सेना दुवैलाई फाइदा पुगेको मानिन्छ। उनी पाँच भाषामा कुरा गर्न सक्थे, कला–साहित्यमा दखल राख्थे र मानिसहरुसँग सरल ढंगले बोलचाल गर्थे। र, यी चलाख र लोकप्रिय नेता हुन्– थाइल्यान्डका राजा भुमिबल। बिहीबार उनको मृत्युको सार्वजनिक घोषणा भएपछि उनका प्रशंसकहरू कहाल्लिएर रोएका दृश्य संसारभरिका सञ्चारमाध्यमहरुले प्रसारण गरे। अनि कतिपयले टिप्पणी गरे– उनको जस्तो लोकप्रियता हासिल गर्न आउँदा राजालाई कठिन छ।
१८ वर्षको किशोर उमेरमै राजा हुने मौका पाएका भुमिबल अदुल्यादेसको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसिन थिए। उनकै शासनकालमा थाइल्यान्ड कृषिप्रधान देशबाट मध्यम आय भएको अर्थतन्त्रमा विकसित भयो। ६७ प्रतिशत गरिबी रहेको थाइल्यान्डमा हाल ११ प्रतिशत जनसंख्या मात्रै गरिबीको रेखामुनि रहेको जनाइन्छ। संकटको घडीमा गद्दी सम्हालेका भुमिबलको मृत्युपछि पनि थाइल्यान्डको राजनीतिक संकट बढ्ने कतिपय विश्लेषकहरू बताउँछन्।
सन् १९४६ मा दाजुको हत्यापछि शासन सम्हालेका भुमिबल संयोगले राजा बनेका थिए। उनको जन्म मासाचुसेट्सस्थित क्याम्ब्रिज अस्पतालमा भएको थियो। उनका पिता माहिडोल अदुल्यादेस त्यसबेला हावर्ड विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा अध्ययनरत थिए। १९२८ मा भुमिबलको परिवार उनका पिता माहिडोलको अध्ययन सकिएपछि स्वदेश फर्कियो। १९२९ मा मृगौला रोगबाट माहिडोलको मृत्यु भयो। पिताको मृत्युपछि उनकी आमा उनलाई लिएर स्वीट्जरल्यान्ड गइन्।
सन् १९३२ मा भएको क्रान्तिले चक्री वंशको झण्डै १५० वर्ष लामो निरंकुश राजतन्त्र अन्त्य गर्दै थाइल्यान्डमा संवैधानिक राजतन्त्र स्थापना गर्यो। राजा प्रजादिपक बेलायत गए र त्यहीँबाट १९३५ मा गद्दी त्यागे। उनी सन्तानविहीन भएको हुनाले भुमिबलका नौ वर्षीय दाजु आनन्द उत्तराधिकारी बने।
सन् १९४६, जुन ९ तारिखका दिन राजा आनन्द माहिडोलको टाउकोमा गोली लाग्यो, जुन अझै रहस्यको रूपमा कायम छ। सो घटनालाई पछि हत्या भनियो र दुई शाही नोकर र एक जना व्यक्तिगत सुरक्षाकर्मीलाई दोषी ठहर्याएर मृत्युदण्ड दिइयो। दाजुको मृत्युपछि भुमिबल गद्दी चढेका थिए।
राजा बनेको ३ महिनामा नै भुमिबल राजनीतिशास्त्र र कानुन पढ्नका लागि स्वीट्जरल्यान्डमा गए। सन् १९४८ मा राजा भुमिबल स्वीट्जरल्यान्डमा छँदै कार दुर्घटनामा परे, जसका कारण उनको दाहिने आँखा गुम्यो।
उनी त्यसबेला नियमित रूपमा पेरिस गइरहन्थे, जहाँ उनी फ्रान्सका लागि थाइ राजदूतकी छोरी सिरिकितसँग प्रेममा परे, जो एकदमै राम्रो पियानो बजाउँथिन्। जुलाई १९, १९४९ मा लन्डनमा उनीहरूको उनीहरूको इन्गेज्मेन्ट भयो। मे ५, १९५० मा २२ वर्षको उमेरमा भुमिबल थाइल्यान्डको औपचारिक राजा बने।
२४ वर्षको उमेरमा स्वदेश फर्केका भुमिबलले आफूसँग वास्तविक शक्ति सीमित भए पनि राजतन्त्रको जग बलियो बनाउन लागिपरे। आफूले गद्दी आरोहण गरेको समयको बारेमा चर्चा गर्दै भुमिबलले १९८९ को एक अन्तर्वार्तामा भनेका थिए, ‘म केही सल्लाह दिनका लागि जब मुख खोल्न खोज्थेँ, उनीहरू भन्थेः ‘सरकार ! हजुरलाई केही थाहा छैन।’ त्यसैले म मुख बन्द राख्थेँ। मलाई धेरै कुरा थाहा थियो तर म मुख बन्द राख्थेँ।’
भुमिबल धनी थिए। झण्डै ३० अर्ब डलर बराबरको उनको सम्पत्ति रहेको अनुमान गरिन्छ। देशका ठूलाठूला कम्पनीमा उनको लगानी भएको बताइन्छ। बैंककमा मात्रै ८ हजारभन्दा बढी हेक्टर जमीन राजखलकको रहेको छ।
थाइल्यान्डः ‘कु’ प्रधान देश
थाइल्यान्ड विश्वमै सबैभन्दा धेरै ‘कु’ र ‘कु’ प्रयास भएको देश मानिन्छ। कतिसम्म भने ठ्याक्कै यति संख्यामा ‘कु’ प्रयास भयो भन्नेमा पनि इतिहासकारहरू एकमत छैनन्। सन् १९३२ यता थाइल्यान्डमा कम्तीमा १९ कु प्रयास भए, जसमध्ये ७ असफल र १२ सफल मानिन्छन्। कतिपयले थाइल्यान्डलाई ‘कु एडिक्टेड’ देश समेत भन्छन्।
विभक्त राजनीति
सन् १९९० पछि थाइल्यान्डको राजनीति दुई भागमा बाँडिएको छ। थाइल्यान्डको राजतन्त्रसहित सानो संख्याका साम्भ्रान्तहरूको हातमा मुख्य राजनीतिक शक्ति छ, जसको मुख्य जनाधार थाइल्यान्डको दक्षिणी भेगका सहर हुन्। यही वर्गका मान्छेहरूले थाइल्यान्डमा प्रजातन्त्र आउनुअघि शासन गर्दथे।
अर्को वर्ग छ, ग्रामीण बहुसंख्यकहरूको। झण्डै दुई तिहाई जनसंख्या ग्रामीण इलाकामा बस्ने थाइल्यान्डमा त्यो संख्यालाई राजनीतिभन्दा बाहिर राखिन्थ्यो। धेरैजसो बासिन्दा उत्तरमा रहेका यो वर्ग प्रायः आम चुनावहरूमा हावी हुने गर्दछ। यद्यपि चुनाव जितेपछि पनि शासनशक्ति आफ्नो हातमा राख्न यो वर्ग सफल हुँदैन। यही प्रतिस्पर्धाका कारण आधुनिक समयमा पनि थाइल्यान्डमा सैन्य ‘कु’ भइरहेको छ।
पछिल्लो पटक टेलिकम व्यवसायबाट उदाएका अरबपति थाक्सिन सिनावात्राले २००१ र २००५ को चुनाव जिते। उनी साम्भ्रान्त परिवारबाट आए पनि राजनीतिक साम्भ्रान्तहरूविरुद्ध र ग्रामीण बहुसंख्यकहरूका पक्षमा कदम चाले। उनैका कारण शक्ति साम्भ्रान्तहरूको हातबाट ग्रामीण वर्गमा सरेको मान्ने पनि धेरै छन्।
सन् २००७ मा थाक्सिनकै समर्थकले चुनाव जिते र २०११ मा उनकै बहिनी यिङ्लक सिनावात्राले। यो परिणामलाई थाई सम्भ्रान्तहरूले स्वीकार्न सकेनन्, जसले गर्दा निर्वाचित सरकारलाई हटाउन स्थापित संस्थाहरूको सहारा लिए। त्यसैले २००६ मा सैन्य ‘कु’ भयो, २००८ मा सरकारलाई अदालतले खारेज गर्यो र २०१४ मा अर्को सैन्य ‘कु’ भयो। थाक्सिनमाथि भ्रष्टाचारको आरोप छ।
परम्परा बनेको ‘कु’
थाइल्यान्डमा ‘कु’ राजनीतिक संकट समाधान गर्ने सजिलो हतियार मानिन्छ। त्यहाँ जबजब राजनीतिक संकट गहिरिन्छ, तबतब ‘कु’को आशंका गरिन्छ। रोचक पक्ष के छ भने त्यस्ता आशंका चाँडै नै यथार्थमा बदलिन्छन्। थाइल्यान्डको राजनीतिक संरचना नै ‘कु’ अनुकूल छ भन्ने गरिन्छ। १९३२ देखि नै त्यस्तै परम्परा बसिसकेको छ। त्यहाँ ‘कु’लाई सजिलै स्वीकारिन्छ पनि।
राजाको अनिश्चित भूमिका
थाइल्यान्डको राजा राजनीतिभन्दा माथि रहेको बारम्बार दाबी गरिए पनि पर्दापछाडि राजाको सक्रिय भूमिका देखिदैँ आएको छ। कम्तीमा एक दर्जन सैन्य ‘कु’लाई राजा भुमिबलले अनुमोदन गरेका थिए। संवैधानिक राजतन्त्र भए पनि संसदबाट पास भएको कानुनलाई भिटो प्रयोग गरेर रोक्ने, अदालतबाट अपराधी घोषित व्यक्तिलाई माफी दिन सक्ने र क्याबिनेटका मन्त्रीलाई बर्खास्त गर्न वा नियुक्त गर्न सक्ने हैसियत राजाको हुने गर्दछ।
राजा भुमिबलको भूमिकाभन्दा पनि राजनीतिक संरचनाका कारण थाइल्यान्डमा राजसंस्था समस्याको जरो बनेको छ। थाइल्यान्डका एक विद्वानले अलजजिरामा लेखेका छन्, ‘विदेशीका नजरमा राजतन्त्र देशको स्थायित्वको प्रतीक बनेको भए पनि लोकतान्त्रीकरण र स्थायित्वका लागि यो बाधक बनेको छ।’
राजाको मध्यस्थकर्ताको भूमिकाका कारण थाइल्यान्डका कतिपय प्रजातान्त्रिक संयन्त्रहरूले प्रजातान्त्रिक अभ्यास गर्न पाउँदैनन्। एक त राजासंस्था आफै सम्भ्रान्तहरूको स्वार्थरक्षा गर्ने गर्छ, त्यसमाथि धेरैजसो ठाउँमा राजाको प्रतिनिधित्व सेनाले गर्दछ। सेना, कर्मचारीतन्त्र र दरबारको निकट सम्बन्धका कारण ‘कु’ले पनि मलजल पाउने गरेको छ।
धेरैजसो ठूला सैन्य ‘कु’लाई राजा भुमिबलले अनुमोदन गर्दै आएका छन्। धेरैको तर्क के छ भने त्यस्ता सैन्य ‘कु’ पर्दापछाडि राजाकै इशारामा हुने गर्दछन्। तर थाइल्यान्डको राजनीतिमा अन्य पक्षहरूबीच जति नै झगडा भए पनि त्यसमा राजतन्त्रलाई जोडिंदैन। त्यसैगरी केही अपवादलाई छोडेर हेर्ने हो भने यस्ता कु प्रायः रक्तपातविहीन हुने गरेका छन्।
उत्तराधिकारको प्रश्न
राजा भुमिबलको मृत्युपछि उनका एक मात्र छोरा महा वजिरालंगकर्ण राजा बन्दैछन्। सन् १९५२ मा जन्मिएका महाले युवाकाल युरोप र अस्ट्रेलियाका कलेजमा बिताएका थिए। पछि उनी थाइल्यान्डको सैन्य पाइलट पनि बने।
तीन बिहे गरेका महाको सार्वजनिक छवि एकदमै नराम्रो रहेको बताइन्छ। राजतन्त्रका समर्थक सम्भ्रान्तहरूसमेत उनलाई राजाको रूपमा देख्न चाहँदैनन्। निर्वासित पूर्व प्रधानमन्त्री थाक्सिनसँगको उनको सम्बन्धदेखि लिएर कुकुरको जन्मदिनमा उनी र उनकी तेस्री पत्नीको नग्न भिडियो सार्वजनिक भएसम्मका घटनाले उनी थाइल्यान्डमा अलोकप्रिय रहेको बुझिन्छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महा राजाका लागि योग्य नभएको दाबी समेत गरेका थिए।
थाइल्यान्डको राजनीतिको पछिल्लो दश वर्ष राता र पहेँलो सर्टमा विभाजित छ। सम्भ्रान्त समर्थकहरू पहेँलो र थाक्सिनका समर्थक रातो सर्टमा चिनिन्छन्। थाक्सिनसँग रहेको भनिएको अबको राजाको मित्रताले त्यो विभाजन रेखालाई मेट्न सके थाइल्यान्डको राजनीतिमा त्यो सबैभन्दा ठूलो सफलता हुनेछ तर त्यसतर्फ थाइल्यान्डका सम्भ्रान्तहरू इच्छुक देखिदैनन्।
सन् २०१४ मा भएको ‘कु’ पछि सत्तामा रहेको सेनाले गराउनुपर्ने चुनाव, सत्ता हस्तन्तरण, राजनीतिक ध्रुवीकरणको अन्त्यजस्ता चुनौती थाइल्यान्डको अघिल्तिर देखिन्छन्। यद्यपि नयाँ राजाको नेतृत्वमा त्यस्तो हुने सम्भावना क्षीण रहेको विश्लेषण पनि गरिन्छ। तर दिवंगत राजाको शोकमा ३० दिनसम्म राष्ट्रिय झण्डा झुकाउन, सरकारी कर्मचारीहरूलाई कालो कपडा लगाउन र शोकको समयमा सर्वसाधारणलाई उत्सव नमनाउन ०१४ को कुपछि जुन्ता प्रमुख बनेका जनरल प्रयुथ चानओचाले आग्रह गरेका छन्।
सात दशक लामो शासनकालमा २९ प्रधानमन्त्री, १६ ‘कु’ र १६ संविधान बेहोरेका भुमिबलको निधनमा उनका समर्थक त दुःखी छन् नै, उनैले बलियो बनाउँदै लगेको राजतन्त्रको भविष्यमा समेत प्रश्न उठ्न थालेको छ।
(एजेन्सीको सहयोगमा)







