नक्सलबाडी किसान सङ्घर्ष आरम्भ भएको ठीक १ वर्ष भएको छ ।
यो सङ्घर्ष अन्य सबै किसान सङ्घर्षभन्दा फरक छ । कहाँ छ त भिन्नता ? किसानहरूले विभिन्न किसिमका अन्यायपूर्ण दमनका विरुद्ध सङ्घर्ष गरेका छन् । यो पहिलो चोटि हो, किसानहरूले आफ्ना केही मागहरूका लागि मात्र नभएर सिङ्गो राज्यसत्ता प्राप्तिका लागि सङ्घर्ष गरेका छन् । यदि हाम्रा लागि नक्सलबाडी किसान सङ्घर्षको कुनै शिक्षा छ भने, यो हो : जुझारु सङ्घर्ष जमिन, अन्नबाली आदिका लागि होइन, बरु सिङ्गो सत्ता प्राप्तिका लागि जारि राख्नुपर्छ । ठीक यही नै नक्सलबाडी सङ्घर्षले प्रदान गरेको विशिष्ट पक्ष हो । विभिन्न क्षेत्रका किसानहरूले आफूलाई यसरी तयार पार्नुपर्छ, जसबाट उनीहरूको क्षेत्रमा सरकारी राज्यसंयन्त्रलाई प्रभावहीन बनाउन सकियोस् । भारतीय किसान सङ्घर्षको इतिहासमा पहिलोपल्ट नक्सलबाडीमा यो बाटोलाई अवलम्बन गरिएको छ । अर्को शब्दमा क्रान्तिकारी युगले ढोका ढकढक्याएको छ र यो त्यस युगको पहिलो वर्ष हो । त्यसै अर्थमा विश्वभरिका क्रान्तिकारीहरूले हृदयदेखि नै नक्सलबाडी सङ्घर्षको स्वागत गरिरहेका छन् ।
भारत साम्राज्यवाद र संशोधनवादको आधारभूमिमा परिणत भएको छ, र अहिले प्रतिक्रियावादी शक्तिहरू यसलाई आधारभूमि मानेर मुक्तिका लागि लडिरहेका जनताका विरुद्ध काम गरिरहेका छन् । त्यसैले नक्सलबाडी सङ्घर्ष केवल राष्ट्रिय सङ्घर्ष मात्र नभएर, यो अन्तर्राष्ट्रिय सङ्घर्ष पनि हो । यो सङ्घर्ष कष्टकर छ र हामीले रोजेको बाटो सजिलो र सुविधाजनक बाटो होइन । क्रान्तिको बाटो कष्टकर छ, सुविधाजनक र सहज छैन, यसमा कठिनाइहरू, खतराहरू छन् र पछाडि फर्किनु पर्ने पनि हुन्छ । तर किसानहरू, जो नयाँ अन्तर्राष्ट्रियतावादबाट जाज्वल्यमान छन्, तिनीहरू यसको सामना गर्न तयार छन् र सम्झौता गर्न अस्वीकार गरेका छन् । उनीहरू आफ्नो सङ्घर्षको बाटोमा निरन्तर अघि बढिरहेका छन् ।
एक वर्षको हाम्रो अनुभवले के देखाउँछ भने एउटा सानो क्षेत्रको सन्देश भारतको हरेक कुनामा फैलिएको छ । मुलुकमा भएका सबैजसो राजनीतिक पार्टीहरूले नक्सवबाडी सङ्घर्षको विरोध गरेका छन्, र पनि मान्छेहरू यस सङ्घर्षलाई बुझ्न थालेका छन् र सङ्घर्षले कोरेको बाटोमा नक्सलबाडी सङ्घर्षका वीर नेताहरू अझै जीवित छन् र सबै प्रयासका अतिरिक्त पनि प्रतिक्रियावादी सरकार तिनीहरूलाई समाप्त पार्न सक्षम हुनसकेको छैन । यसले अध्यक्ष माओका शब्दहरू कति सत्य रहेछन् भन्ने कुरा प्रस्ट हुन्छ : “सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् । बाहिरबाट हेर्दा प्रतिक्रियावादीहरू भयङ्कर छन्, तर यथार्थमा तिनीहरू त्यस्तो शक्तिशाली छैनन् l”
अध्यक्षले (अध्यक्ष भनेर यहाँ कमरेड माओलाई भनिएको हो—अनुवादक) भन्नुभएको छ : “उपनिवेशवाद, साम्राज्यवाद र शोषणका सबै व्यवस्थाको पूर्ण अन्त्य र विशवका सबै उत्पीडित जनता र राष्ट्रको पूर्ण मुक्ति त्यति टाढा छैन ।”
मुक्तिको त्यो चम्किलो प्रकाशपुञ्जलाई पछ्याउँदै अघि बढौँ !
लिबरेसन, जुन १९६८







