पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जहाँ हिन्दु हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुने बताएका छन् ।
राजधानीको वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् । ‘सनातनी हिन्दुहरु जो जहाँ छन् त्यही सुसंस्कृत, सभ्य र शान्त छन्’, उनले भने, ‘जहाँ हिन्दु हुन्छन् । त्यहाँ शान्ति र सद्भाव हुन्छ ।’
पूर्वराजा शाहले विश्वमा उत्पन्न तनाव, विवाद र संघर्षलाई न्युनिकरण गर्न आह्वान समेत गरेका छन् । ‘असत्यलाई निरुत्साहित गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र संघर्षको स्थितिलाई न्युनिकरण गर्न आह्वान गर्दछु’, उनले भने, ‘हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ ।’
पूर्वराजा शाहले सम्बोधन गर्दै निषेधको राजनीतिले विद्रोह हुने चेतावनी समेत दिएका छन् । हिन्दु सम्मेलनलाई सम्बोधन गर्दै ज्ञानेन्द्रले भने, ‘निषेधको राजनीति भए असन्तुलन उपेक्षा हुँदै विद्रोह हुन्छ ।’ सम्बोधनका क्रममा ज्ञानेन्द्रले नेपालमा मौलिकता र राष्ट्रियता हराउदै गएकोप्रति असन्तुष्टि जनाए।







