चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ इच्छुक रहेको बताएका छन् ।
यसका लागि लगानी संरक्षणको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । नेपालको विकास निर्माणमा चीन पर्याप्त सहयोग गर्न तयार रहेको उनले बताए ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग बुधबार भएको भेटवार्तामा मन्त्री माओले चीनले गरेको आर्थिक उन्नतिबाट नेपालले प्रशस्तै फाइदा लिन सक्ने बताए । औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने उनको भनाइ छ ।
द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको थियो । मन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्र (सेज)को पूर्वाधार निर्माणमा सहयोग गर्न चीनसँग आग्रह समेत गरे ।
मन्त्री जोशीले संविधान निर्माणपछि नेपालका सबै राजनीतिक दलको ध्यान आर्थिक समृद्धितर्फ गएको हुँदा नेपालमा लगानीको वातारण तयार भएको चिनियाँ मन्त्रीलाई जानकारी गराए ।
लगानी संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनी रूपमा नै प्रत्याभूति दिने तरिकारले अगाडि बढीरहेको जानकारी दिँदै उद्योगमन्त्री जोशीले यस क्रममा आफ्नो मन्त्रालयले सेजसम्बन्धी ऐन, औद्योगिक व्यावसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरी कार्यान्वयमा ल्याउने चरणमा रहेको बताए ।
कम्पनी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन र बौद्धिक सम्पतिसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने प्रकृयामा उद्योग मन्त्रालय लागिरहेको पनि मन्त्री जोशीले जानकारी गराए । चिनियाँ मन्त्री माओले नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनियाँ प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न समेत आफू तयार रहेको बताए ।
त्यस अवसरमा दुई देशका युवा तथा महिलाको सिर्जनशीलता एवम् नवीनतम् उद्यमशीलता विकासका लागि द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको थियो ।







