कार्कीनिकट अख्तियार स्रोतका अनुसार काठमाडौंस्थित भारतीय दुतावासका कर्मचारीको माध्यमबाट कार्कीले टेलिफोनमा मोदीसँग कुराकानी गरि गुहार मागेका हुन्।
बुधबार बेलुकी संसदमा आफूविरुद्ध महाअभियोग दर्ता भएकै दिन नेपाल फर्केका कार्की दिल्ली भएर नेपाल आएकोसमेत खुल्न आएको छ। ‘क्यानडाबाट केही दिन सम्पर्कमा नआएका कार्की दिल्लीमा आएर सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा सरकारी निकायका अधिकारीहरुसँग छलफल गरी नेपाल फर्केका रहेछन्’, अख्तियार स्रोतले भन्यो, ‘दिल्लीमा कार्कीले मोदीसँग भेटघाट गर्न प्रयास गरे पनि सफल भएनछन्।’
कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएसँगै काठमाडौँस्थित भारतीय राजदूत रन्जित राय दलका नेताहरुलाई भेट्न सक्रिय भएका छन्। बिहिबार मात्र उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक भेटघाट गरेका थिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवादेखि नेकपा एमालेका नेताहरुलाई समेत रायले भेटेका छन्। उच्च भेटवार्तामा रायले कार्कीलाई जोगाउन प्रयास गरिरहेको बताइएको छ।
फाइल निजी निवासमा सारियो
स्रोतका अनुसार संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका कार्कीले स्वकीय सचिव गोवर्धन श्रेष्ठमार्फत् अख्तियारमा रहेका फाइलहरु निजी क्वाटरमा झिकाएर हेर्न थालेका छन्। निलम्बनमा परेपछि कानुनतः कार्कीले त्यसरी फाइल हेर्न मिल्दैन। कार्कीका स्वकीय सचिव श्रेष्ठ नेपाल प्रहरीका अवकाश प्राप्त एसएसपी हुन्।
बिहिबार बिहानदेखि बेलुकीसम्म कार्की निवास रहेर भेटघाटमा व्यस्त छन्। बेलुकी कार्कीलाई भेट्न जानेहरुको लाम लागेको थियो। कार्कीको क्वाटरमा गाडी पार्किङ गर्ने ठाउँ नभएर भाटभटेनीमा रहेको राष्ट्र बैंकको पार्किङस्थल प्रयोग गरिएको थियो।
कार्काीले अहिले निजी निवासबाट विभिन्न शक्ति केन्द्र र राजनीतिक दलका नेताहरुसँग टेलिफोनमा कुराकानी गरिरहेको बताइएको छ। शुक्रबार बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका कार्की प्रधानमन्त्रीको समय नमिलेपछि गेटबाटै फर्केका थिए।







