अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले एउटै डिनरमा उपस्थित भएर एकअर्काको मजाक उडाएका छन्। यस्तो मौका जुराएको हो क्याथोलिक च्यारिटीलाई सहयोग गर्ने अल्फ्रेड इ. स्मिथ मेमोरियल डिनरले।

बिहीबार राती आयोजित सो डिनरमा हिलारी र डोनाल्डले परम्परागत राजनीतिक तर्कवितर्क भन्दा एकअर्काप्रति हलुका र मनोरञ्जक अभिव्यक्ति दिएका थिए।

‘हिलारी अचानक मसँग ठोक्किन आइपुगिन्’, डोनाल्डले भने, ‘उनले माफ गर्नुहोला भनिन्, मैले विनम्रतापूर्वक भनेँ– म राष्ट्रपति चुनिए पनि त्यसबारेमा बोलुँला।’

‘मैले हिलारीलाई दुस्ट आइमाई भनेँ। उनको बकबक सुन्दासुन्दा गरेपछि म रोजी ओडोनेलका बारेमा त्यति सोच्न छोडिसकेँ। वास्तवमा म रोजीलाई मन पराउन थालिसकेको छु’, डोनाल्डले थपे। रोजी ओडोनेलले राष्ट्रपतीय बहसको बेला डोनाल्डलाई गाली गर्दै लगातार ट्वीट गरेकी थिइन्।

‘मलाई राष्ट्रपतिले रोइकराई नगर्न भने तर यसपालि मिडिया निकै पक्षपाती भएको छ। तपाईं प्रमाण चाहनुहुन्छ? मिसेल ओबामा भाषण गर्छिन् र त्यसलाई सबैले मन पराउँछन्। मेरी पत्नी मेलानिया पनि ठ्याक्कै उही भाषण दिन्छिन् तर मानिसहरु उनको कुरो काट्छन्। किन हो मलाई थाहा छैन’, डोनाल्डले रमाइलो पारामा भने।

रिपब्लिकन पार्टीको सम्मेलनमा मेलानियाले दिएको भाषण उनले मिसेल ओबामाको भाषणबाट चोरेको आरोप लागेको थियो।

उता हिलारी क्लिन्टनले पनि आफ्नो पालो आएपछि डोनाल्डलाई उडाउन बाँकी राखिनन्। ‘डोनाल्डले हिजोको बहसमा मेरो ड्रग परीक्षण गरिनुपर्ने कुरा उठाएका थिए, वास्तवमा मैले प्रदर्शन बढाउने औषधी लिएकी थिएँ, त्यो हो, तयारी।’

‘यो रेस ऐतिहासिक हुनेछ। हामीसँग या त पहिलो महिला राष्ट्रपति हुनेछिन् या त पहिलो राष्ट्रपति जसले सेरसँग ट्वीटर युद्ध सुरु गर्यो।’ सेर अमेरिकी गायिका तथा नायिका हुन्।

डोनाल्डको मजाक उडाउँदै हिलारीले थपिन्, ‘डोनाल्ड मेरो स्वास्थ्यप्रति खुब चिन्तत छन्। आज मलाई लिन उनले एउटा कार पठाएका थिए, खासमा त्यो शववाहन थियो।’

‘डोनाल्ड साँच्चिकै घोडाजत्तिकै स्वस्थ छन्, तपाईंलाई थाहा छ, त्यो घोडाजत्तिकै जसमा भ्लादिमिर पुटिन चढेर घुम्छन्’, हिलारीको अर्को मजाकमा रुसी राष्ट्रपति पनि मुछिन पुगे। (एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार