चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी सामान भित्रिएका छन् । निर्यात भने १८ अर्ब ९० करोड रुपैयाँबराबरको मात्रै भएको छ । यो अवधिमा निर्यातभन्दा आयात ११.७ गुणा बढिरहेको तथ्यांकले देखाएको छ ।
भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा गत आवको सोही अवधिभन्दा ७०.७ प्रतिशतले आयात वृद्धि भएको छ । तर, निर्यात भने ७ प्रतिशत मात्रैले बढेको छ ।
गत आवको ३ महिनामा आयात १ खर्ब २९ अर्ब २२ करोड र निर्यात १७ अर्ब ५१ करोड भएको थियो । व्यापारघाटा १ खर्ब ११ अर्ब ७० करोडबाट ८०.५६ प्रतिशतले वृद्धि भएर २ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
गत आवमा भदौ र असोज महिना सिमानामा मधेसी मोर्चाले गरेको आन्दोलन र भारतको नाकाबन्दीले वैदेशिक व्यापारमा ठूलो अवरोध पु¥याएको थियो ।
नाकाबन्दीले न्यून मात्रै वस्तु आयात भएकाले यस वर्ष आयात उल्लेख्य बढेको तथ्यांक देखिएको हो । तर, उत्पादन र उत्पादकत्व न्यून हुँदा निर्यात खासै वृद्धि भएको छैन । निर्यात वृद्धिदर नेपालको मुद्रास्फीति जति पनि छैन । आयात र निर्यातको तथ्यांक आशिकुडा प्रणाली लागू भएका १५ मुख्य भन्सार कार्यालयको मात्र हो ।

३५ मुलुकसँग मात्र व्यापार नाफा रहेका छन् । व्यापार नाफा रहेका मुुलुक अमेरिका, बेलायत, जाम्बिया, सुडान, सोमालिया, पपुवा न्युगिनी, मौरिसस, माल्दिभ्स, कंगोलगायत छन् । बढी व्यापार हुने ५० मुलुकमध्ये ३ मुलुकसँग मात्र व्यापार नाफा छ । अमेरिकासँग ३६ करोड, बेलायतसँग १६ करोड, डेनमार्कसँग ८१ लाख रुपैयाँ व्यापार नाफा छ ।
यस अवधिमा कृषिजन्य वस्तुको आयात ३८ अर्ब करोड रुपैयाँ भएकोमा निर्यात ५ अर्ब १३ करोड रुपैयाँ मात्र छ । सवारी साधन तथा तिनका पार्टपुर्जा २५ अर्ब, पेट्रोलियम पदार्थ २३ अर्ब, फलाम तथा स्टिल २१ अर्ब, विद्युतीय सामान १९ अर्ब, न्युक्लियर रियाक्टर, बोइलर मेसिन १६ अर्ब, प्लास्टिक ६ अर्ब रुपैयाँबराबरको आयात भएका छन् ।
निकासीतर्फ भने गलैंचा २ अर्ब १७ करोड, तयारी पोसाक १ अर्ब ७० करोड, फाइबर १ अर्ब ४१ करोड र चिया तथा कफी १ अर्ब ४० करोड रुपैयाँ छ । विभागका अनुसार तीन महिनाको अवधिमा आयातीत वस्तुबाट ६६ अर्ब ३६ करोड रुपैयाँ भन्सार राजस्व असुल भएको छ ।







