
सत्तारुढ दल नेपाली कांग्रेस अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा अझैसम्म पनि अनिर्णित अवस्थामा छ ।
कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको यतिका दिन वित्दा समेत सबैभन्दा ठूलो पार्टी काँग्रेसले निर्णय गर्न नसक्दा अहिले सबैतिर काँग्रेसको नेतृत्वको बारेमा विशेष चर्चा परिचर्चा हुन थालेको छ ।
काँग्रेसले आफ्नो धारणा तय गर्न केही दिनदेखि केन्द्रीय समितिको बैठक बसिरहेको छ । आजपनि काँग्रेसको बैठक बसिरहेको छ । संसदीय दलमा समेत सांसदहरुले छलफल हुनुपर्ने भनेपनि छलफल हुन सकेको छैन। काँग्रेस सभापतिले अझै निर्णय गराउन सकेका छैनन् ।
केन्द्रिय समितिमा बोल्ने अधिकांश नेताहरुले लोकमानको पक्षमा आफ्नो धारणा राखेका छन् । उनीहरुले लोकमानलाई तत्काल हटाईए मुलुकमा अस्थिरता निम्तिने समेतको खतरा औल्याएका छन् ।
तर केही नेताहरु भने लोकमानलाई हटाउनको लागि पार्टीले निर्णय गर्न ढिला गर्नु हुँदैन भन्ने पक्षमा छन् । कार्कीलाई हटाउनुपर्छ भन्नेको नेतृत्व कृष्ण सिटौलाले गरेका छन् ।
त्यस्तै केन्द्रिय सदस्यहरु धनराज गुरुङ, सुरेन्द्र पाण्डे्, डिला सांैला, गगन थापाले लोकमानलाई हटाउनुपर्छ भनेर सार्वजनिक रुपमै आवाज उठाउँदै आएका छन् ।







