
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफुलाई हङकङस्थित अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा लिएपछि ठूलो अपमानित भएको बताएका छन् ।
यो अपमानलाई उनले तत्कालीन भारतीय नेता महात्मा गान्धीको रुपमा अथ्र्याएका छन् ।
कुनैबेला महात्मा गान्धी भारतबाट दक्षिण अफ्रिका जाँदा ब्रिटीशहरुले अपमान गरेको स्मरण गर्दै बाबुरामले चीनको स्वशासित राज्य हङकङले गरेको व्यवहार त्यस्तै भएको बताएका छन् ।
शनिबार हङकङमा एक घण्टा लामो अध्यागमनको नियन्त्रणबाट नेपाल आएलगत्तै बाबुरामले सामाजिक संजाल फेसबुकबाट स्टाटस लेख्दै आजको नेपालमा नेपाली पार्सपोटको विदेशमा कतिसम्म अपमान हुँदो रहेछ भन्ने कुरा हङकङ अध्यागमनले गरेको अपमान भएको बाबुरामको पीडा रहेको छ ।
उनले यो घटनाबाट नेपाल आर्थिक रुपले सम्पन्न नभएसम्म विदेशमा नेपालीको सम्मान नहुने भन्दै आर्थिक विकासमा लाग्नु पर्ने औल्याएका छन् ।
‘ग्वांगजाऊबाट हंगकंगसम्म रेलमा यात्रा गर्दा महात्मा गान्धीको दक्षिण अफ्रिका यात्राको दुखद सम्झना भयो । सामान्य यात्रीको रुपमा नेपाली पासपोर्टको विदेशमा कति अपमान हुँदोरहेछ भन्ने प्रत्यक्ष अनुभूति भयो ।’ बाबुरामले फेसबुकमा लेखेका छन्, ‘यस घटनाबाट आर्थिक रुपले समृद्ध नबनेसम्म नेपालीको सम्मान विदेशमा रहन्न र त्यसनिम्ति आर्थिक विकासलाई अर्जुनदृष्टि लगाएर नयाँ शक्ति अभियानमा अरु दृढतापूर्वक लाग्नुपर्छ भन्ने अठोट झन् बढेको छ ।’

चीनमा भएको वन बेल्ट, वन रोडसम्बन्धी सम्मेलनमा संवोधन गरेर फर्कने क्रममा बाबुरामलगायत हिसिला यमी र स्वकीय सचिव विश्वदीप पाण्डेलाई एक घण्टा हंगकंग अध्यागमनको नियन्त्रणमा रहेका हुन् ।







