
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले वर्तमान प्रचण्ड नेतृत्व सरकारले भारतीय राष्ट्रपति नेपाल आउँदा दिने भनिएको सार्वजनिक विदाका विरुद्ध आज राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ ।
सरकारले कार्तिक १७ गते भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यसले नेपालको स्वाभिमानलाई गंभीर आघात र वर्तमान सरकारको दलालीकरणको भद्धा रुप भन्दै विप्लव माओवादीले यस्तो विरोध प्रदर्शन गर्न लागेको हो ।
आज दिउँसो १ बजे माइतीघर मण्डलामा विप्लव माओवादीका निकट जनवर्गीय संगठनद्धारा यस्तो बृहत विरोध कार्यक्रमको आयोजना गरिएको हो ।
यसैबीच माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले सरकारले भारतीय राष्ट्रपति आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेर दलालीकरण र आत्मसमर्पण गरेको बताएका छन् ।
प्रवक्ता प्रकाण्डले भारतीय राष्ट्रपतिको पछिल्लो चाकरी र दलालीले सरकार थप राष्ट्रघाततिर गएको गंभीर आरोप लगाएका छन् ।







