इतिहासका पुस्तकमा काष्ठमण्डप १२औं शताब्दीमा बनेको उल्लेख छ । तर, अब यो मिति गलत साबित भएको छ ।
बेलायतको एउटा विश्वविद्यालयमा गरिएको परीक्षणबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको छ । बेलायतको स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा नमुना परीक्षण गर्दा यो तथ्य पत्ता लागेको हो ।

भुइँचालोको केही महिनापछि काष्ठमण्डपको केही भाग उत्खनन भएको थियो । उत्खननका क्रममा त्यहाँको जगमा कोइला भेटिएको थियो । कोइला र जगको माटो, बालुवा परीक्षण गरिएको थियो । कोइलाको सी–१४ डेटिङ, जगको बालुवा, माटो, काठको ओएसएल डेटिङ टेस्ट गरिएको थियो ।
‘६/७ महिना लगाएर परीक्षण गरिएको हो,’ पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले भने, ‘५ सय वर्षको इतिहास बढयो ।’ परीक्षण गर्दा ३ किसिमको तथ्य पत्ता लागेको कुँवरले जानकारी दिए । अँगार परीक्षण गर्दा काष्ठमण्डप बन्नुअघि यो ठाउँमा मानवबस्ती रहेको पाइएको छ । अँगार २२ सय वर्ष पुरानो भएको पत्ता लाग्यो । ‘२२ सय वर्ष पहिला यहाँ खेती रहेको पाइयो,’ कुँवर भन्छन्, ‘पहिलाको इतिहास कथा, जनश्रुतिका आधारमा थियो, अहिले वैज्ञानिक रूपमा पुष्टि भयो ।’
उत्खनन गर्दा जगमा दुई तह भेटिएको थियो । पहिलो तहको गारो १८/१८ फिटको पाइएको छ । भित्रको १२/१२ फिट भेटिएको छ । बाहिरको र भित्रको पर्खाल जोड्न बीचमा सानो पर्खाल लगाइएको छ । यीमध्ये बाहिरी र भित्री पर्खाल सातौं शताब्दीको र बीचमा जोड्ने पर्खालचाहिँ नवौं शताब्दीमा बनेको पाइएको छ ।
काष्ठमण्डप कहिले बन्यो भनेर इतिहासमा एउटै तिथिमिति उल्लेख थिएन । वंशावलीअनुसार काष्ठमण्डप लक्ष्मीनरसिंह मल्लको पालामा बनेको उल्लेख गरेको छ ।
वंशावलीअनुसार लक्ष्मीनरसिंहको पालामा विसेत नाम गरेका तान्त्रिकले गोरखनाथको कृपाबाट पाएको कल्पवृक्षबाट काष्ठमण्डप नामक सत्तल बनाए र यही सत्तलको नामबाट काठमाडौं नाम रहन गएको उल्लेख छ ।
तर, लक्ष्मीनरसिंह मल्लको शासनभन्दा निकै अगाडि काष्ठमण्डपबारे उल्लेख भएको थियो । त्यही भएर लक्ष्मीनरसिंह मल्लले बनाए भन्ने वंशावलीमा उल्लेख कथालाई विश्वास गर्ने आधार थिएन ।
वंशावलीले काष्ठमण्डपको कथा लक्ष्मीनरसिंहसँग जोडे पनि त्योभन्दा पहिला नै लेखिएको पुस्तकमा काष्ठमण्डपबारे उल्लेख भएको पाइन्छ । विसं १२०० मा लेखिएको ‘नामसंगीत’ नामक पुस्तकमा काष्ठमण्डप उल्लेख गरिएको छ । यो पुस्तक हातले लेखिएको हो ।
राजा सिंहदेवका कालमा पनि काष्ठमण्डपबारे उल्लेख भएको इतिहास पाइन्छ । सिंहदेव विसं ११६७ देखि ११८५ सम्म राजा भएका थिए ।
हरिराम जोशीले निकालेको रोलम्ब पत्रिकामा काष्ठमण्डप बाह्रौं शताब्दीमा बनेको उल्लेख छ । नेपाल प्रज्ञा प्रतिष्ठानले २०४४ सालमा निकालेको स्थानमान शब्दकोषमा ११औं शताब्दी उल्लेख छ । यो शब्दकोष कृष्णप्रकाश श्रेष्ठले लेखेका हुन् ।
२०६७ सालमा यज्ञमानपति वज्राचार्यले लेखेको पुस्तक नेपालका प्राचीन वज्राचार्य लीलावज्र पुस्तकमा भने काष्ठमण्डप सातौं शताब्दीमा लीलवज्रले बनाएको उल्लेख छ । नेपाल भाषा एकेडमीका प्राज्ञसमेत रहेका वज्राचार्य भन्छन्, ‘हामीले सातौं शताब्दीमा बनेको भन्दै आएका थियौं । विज्ञानले पनि यही पुष्टि गर्यो ।’
भूकम्प आउनासाथ काष्ठमण्डपको एकछेउमा गरिएको उत्खननबाट यो तथ्य बाहिर आयो । पुरातत्त्व विभाग र बेलायतको दुराहम विश्वविद्यालयको टोलीले काष्ठमण्डपलगायत अन्य सम्पदाको पनि उत्खनन सुरु गरेको छ ।
कुँवर भन्छन्, ‘इतिहासका नयाँ तथ्य बाहिर आउने विश्वास गरेका छौं ।’
इकान्तिपुरबाट







