शिक्षामन्त्री धनीराम पौडेलले नेपाललाई समृद्ध बनाउने बाटो शिक्षाले मात्र पहिल्याउने बताएका छन्।
नेपालमा विश्वस्तरको कक्षा सञ्चालन हुने विश्वविद्यालयसम्बन्धी तीनदिने कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उनले समृद्ध नेपालको परिकल्पना शिक्षाले मात्र साकार हुने बताए।

देशमा गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रदान गर्न ‘राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान’ आवश्यक रहेको र यस्तो प्रतिष्ठान चाँडै स्थापना गर्न मन्त्रालय जुटिरहेको उनले जानकारी गराए।
कार्यशालामा प्रा राजेन्द्रध्वज जोशीले ‘समृद्धिका लागि प्रतिष्ठानको भूमिका’बारे कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विश्वस्तरको विश्वविद्यालय आवश्यक रहेको औँल्याए । उनले विश्वस्तरको विश्वविद्यालय प्रतिष्ठानले गुणस्तरीय शिक्षा, नयाँ वस्तु उत्पादन र सेवा प्रदान गर्न सक्ने दाबी गरे।
कार्यशालामा सिङ्गापुर, भारत, दक्षिण कोरिया र मलेसियाबाट सहभागी हुन आएका प्राध्यापकहरुले नेपालमा विश्वस्तरको विश्वविद्यालय आवश्यक रहेको बताउँदै त्यस अभियानमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुने गरी विश्वविद्यालय प्रतिष्ठान स्थापना गर्ने सिलसिलामा पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनबारे सुझाव सङ्कलन गर्न कार्यशालाको आयोजना गरिएको हो । प्रतिष्ठान खोल्न मन्त्रालयले मकवानपुरको चित्लाङमा करिब दुई सय रोपनी जग्गा प्राप्त गरिसकेको छ। रासस







