उदय चलाउने ‘दीपक’, तत्कालीन जनमुक्ति सेना नेपालका सह–कमान्डर थिए ।

हाल नेत्र विक्रम चन्द नेतृत्व माओवादीका केन्द्रीय सदस्य छन् । एक वर्षअघि राष्ट्रिय युवा जनस्वयंसेवकको जिम्मेबारीबाट विदा लिएर चलाउने पार्टीमा फर्केका छन् । चलाउने जाजरकोटमा जन्मिए र रहरलाग्दो उमेरमा जनयुद्धमा लागे । दसवर्षे जनयुद्धका घुम्ती पार गर्दै शान्तिप्रक्रियापछि पहिले छैटौंँ डिभिजन र पछि तेस्रो डिभिजनको सह–कमान्डर बने ।

शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेबापत कमान्डर धनबहादुर मास्कीलगायतले उनीमाथि दुस्मनको जस्तो व्यवहार गरे र अभिशप्त पात्र बनाएर शिविरबाट निकालिए । ‘लालमोर्चाका किल्लाहरूमा’, ‘समरयात्रा’लगायत किताबका लेखक चलाउने जनयुद्धकालमा कमरेड दीपकका नामले चर्चित थिए ।

दुई वर्षअघि जनआस्था साप्ताहिकका लागि यादव देवकोटालाई चलाउनेले अन्तर्वार्ता दिएका थिए । अहिलेको समयमा पनि समयसापेक्ष मिल्ने ठानेर त्यो अन्तर्वाता प्रकाशित गरेका छौं ।

dipak-22

शिविरबाट बाहिरिएपछि के गर्दै हुनुहुन्छ ?

पार्टीले युवाहरूको संगठन राष्ट्रिय जनस्वयंसेवक ब्युरोको केन्द्रीय जिम्मेवारी दिएको छ ।

जनस्वयंसेवक ब्युरोले चाहिँ के गर्दै छ ?

शिविरबाट अपमानित रूपमा निकालिएका र अवकाशबाट बाहिरिएका साथीहरूसमेतलाई संगठित गर्दै राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ । पहिले ब्युरो भनिएको थियो । अहिले त्यसलाई बदलेर राष्ट्रिय स्वयंसेवक केन्द्र नाम राखेका छौंँ ।

स्वयंसेवक केन्द्रलाई सशस्त्र रूपमा अगाडि बढाउने योजनाका साथ काम भइरहेको छ होइन ?

मान्छेहरूले त्यस्तो हल्ला पनि चलाएका छन् ।

हावा नै नचली पात हल्लियो होला र ?

कहिलेकाहीँ त्यस्तो पनि हुन्छ । तर, हामी माक्र्सवादीले सैद्धान्तिक रूपमा बल प्रयोगको सिद्धान्तलाई अस्वीकार गर्दैनौंँ । केही मान्छेले आफ्नो कुत्सित मनसाय पूरा गर्न हतियार उठाउन लाग्यो भनी ठुल्ठूला अक्षरमा होहल्ला मच्चाएका छन् । हामी दमन हुँदा टुलुटुलु हेरिराख्नुपर्ने गरी चुपचाप बस्नुपर्छ भन्ने आत्मसमर्पणवादी सोच राख्दैनौँ र आवश्यक तयारी चुस्त–दुरुस्त राख्नुपर्छ भन्ने माक्र्सवादी मान्यतामा विश्वास गर्छौं ।

तपाईं विघटित जनमुक्ति सेनाको माथिल्लो तहको कमान्डर हुनुहुन्थ्यो । त्यो पनि सबैभन्दा धेरै भ्रष्टाचार भएको भनेर बद्नाम तेस्रो डिभिजनमा । धेरै गोलमाल भएको हो पैसा ?

भ्रष्टाचार सबै डिभिजनमा भएको छ । फरक यत्ति हो धेरै र थारै । त्यसरी हेर्दा तेस्रो डिभिजनमा २० करोड हाराहारीमा रकम हिनामिना भएको देखिन्छ । यो अन्य डिभिजनको भन्दा अलि बढी नै हो । तत्कालीन कमान्डर धनबहादुर मास्की राजेशले डिभिजनको सबै हिसाब–किताब उदय चलाउनेको मातहतमा थियो भनेका छन् नि ? तेस्रो डिभिजन मात्रै होइन, त्यसअघि मैले काम गरेको छैटौंँ डिभिजनको पनि आवश्यक कागजात झिकाएर हेरे हुन्छ । भनुन् न छानबिन गरेर मैले कति खाएँ । अहिले सुनिन्छ धनबहादुर कन्स्ट्रक्सन कम्पनी खोलेर बसेका छन् ।

त्यत्रो रकम राजेशले मात्रै खाए कि माथि पनि पुग्यो होला ?

के सक्थ्यो त्यसले एक्लै खान ? अनन्त, पासाङ हुँदै प्रचण्डसम्म पुगेको छ । मैले जनमुक्ति सेनाका योद्धाहरूको नाममा आएको पैसाको हिसाब–किताब सार्वजनिक गर्न माग गर्दा शिविरबाट अपमानजनक ढंगबाट निकालियो ।

के गरेर अपमान गरे तपाईंलाई ?

शिविरमा भएकाे त्यो हिनामिनाको विषय मेरो तहबाट पनि उठाइएन भने इतिहासमै कहिल्यै उठ्दैन, सहिदको रगतको बलमा बनेको जनमुक्ति सेनाको नाममा दुई-चारजना भ्रष्टको चुलोमा भतेर लगाउने काम गरेर हाम्रो इतिहास सकिन्छ भन्ने लाग्यो र जोडदार छानबिनको माग गरेँ ।

पर्दा्भित्र बसेर लुटेको सम्पत्ति सार्वजनिक गर्नुपर्छ भनेर उनीहरूले सोचेकै थिएनन् । अनि साँझदेखि बन्दुकको घेरामा राखेर, पेस्तोल तेस्र्याएर नियन्त्रणमा लिने काम भयो । बढ्ता हल्ला नगर जे पनि हुन सक्छ भनेर धम्क्याइयो । एकजना ओमलाल खड्का भन्ने कम्पनी कमान्डर साथीलाई कोठामै निर्घात कुटपिट भयो र स्वैच्छिक अवकाशका लागि लिएको चेकबाट साटिएको पैसामध्ये ४३ हजार लुटियो । त्यो पैसा अझै उहाँले फिर्ता पाउनुभएको छैन । यो सबै धनबहादुरको प्रत्यक्ष नेतृत्वमा भयो ।

हिजो दुनियाँ फेर्छु भनेर डिँडेको मान्छे,आफ्नै आँखा अगाडि बडे–बडे नेताहरू साहु–महाजनमा फेरिएको देखेर घर फर्किंदा समाजचाहिँ कत्तिको फेरिएको पाउनुभयो ?

हुनेखानेहरूले हुँदा खानेहरूमाथि गरेको अत्याचार सही नसक्नु थियो । हामीलाई त्यो मन परेन । र, फेर्न भनेर डिँड्यौँ समाज र समाजका जाली संरचना । त्यो फेर्न हिँडेका हामी अचेल । गाउँ जान्छु, सबैतिर भत्किएका छन्, जनयुद्धकालीन संस्कार । भग्नावशेष बनेको छ सबै सबै । केही फेरिएको छैन जनताको जीवनस्तर । भो कुरा नगर्नोस् विकृतिको । विकृतिको सबैभन्दा ठूलो स्याम्पल र पाठशाला प्रचण्ड हो । नेता गद्दार भएपछि सब बर्बाद हुँदोरहेछ ।

यो सबै देखेर कस्तो लाग्छ ?

त्यत्रा मान्छेको रगत बग्यो नयाँ संसार निर्माण गर्नका खातिर । घाइते, अपांग भएका हजारौँ मान्छेको जीवनको लगानी र आन्दोलनमा सामेल लाखौँ कार्यकर्ताको जोवनको लगानी भयो जनयुद्धमा । तर, क्यान्टोनमेन्टमा बस्दा नै मैले धेरै भोगेँ । धेरै देखेँ । हेर्दाहेर्दै पार्टी बिग्रिएको । पार्टी बिग्रियो है भनेर खबरदारी गर्दा टेढा आँखाले हेरिएको । दुस्मन ठानिएको । जाँड–रक्सीको साथमा भोजभतेर देखेको ।

नेताहरूको जीवन फेरिएको । ती पराइका हाकिमजस्ता हुँदै गएको । उठबस र खानपिन फेरिँदै गएको । खरिपाटी हुँदै पालुङटारसम्म फरक विचार राखेकै कारण निगरानी र अपमानको निरन्तरता जारी रह्यो । शिविरबाट निस्कने बेला पनि नमीठो व्यवहार भयो । मन कोक्याइरहन्छ सम्झँदा । सहज लाग्दैन । पीडाबोध हुन्छ ।

दुई-चार नेता बिग्रँदैमा, एउटा पार्टी बिग्रँदैमा त्यत्रो बलिदान र त्यागको जगमा बनेको सभ्यता र संस्कृति फेरिने कुरा हुन सक्छ ?

अहिलेसम्मको संसारको संस्कृति बनाएकोे बन्दुकले नै हो । त्यसैले त माक्र्सवादीहरू बल प्रयोगको सिद्धान्तलाई अस्वीकार गर्दैनन् । हामीले नेपालमा निर्माण गर्न खोजेको सभ्यता र संस्कृति पनि बन्दुककै हो । जहाँसम्म स्थायित्वको सवाल छ, आङ्खनो अदालत, सत्ता, सेना सबै विघटन गरिसकेपछि जनताले मात्रै बाँकी कुरा थेगिदिनुपर्छ भन्ने पनि त भएन नि !

त्यही पीडाबोधले नयाँ सेना बनाउने अभियानमा लाग्नुभएको हो ?

पीडाबोध मात्रै छैन । भावना छ । जिम्मेवारीबोध पनि छ । अधुरो रहेको नेपालको जनवादी क्रान्तिलाई पूर्णता दिन जिम्मेवारीबोधका साथ लागेका छौ ।

जनताचाहि नाम फेर्दै आइरहने नयाँ–नयाँ पार्टीले बेच्ने सपना किन्ने र सधै ठगिइरहने नियतिबाट निस्कन नपाउने भए है ?

जहानियाँ राणाशासन ढल्यो । पञ्चायत ढल्यो । राजतन्त्र गयो । यी भिन्न–भिन्न उपलब्धि प्राप्त गर्ने आन्दोलन नेपाली जनता एकजुट भएर लागेकैले सफल भएको हो । देश धर्म्निरपेक्ष भयो । संघीयता कसैले पनि अस्वीकार गर्न नसक्ने जबर्जस्त मुद्दा बनेर आयो । यो सबैले जनताको पेटचाहिँ नभरिनेरहेछ क्या, यही त समस्या भयो । परिवर्तनले व्यवस्था बदल्यो । नेता बदल्यो । पार्टी बदल्यो । सिंहदरबारमा फोटो बदल्यो ठालुहरूको ।

जनताको झुपडी बदलिएन । यो बदलाव बुर्जुवा बद्लाव भयो । यसले मुठीभर मान्छेको मात्रै हित गर्छ । त्यसैले त संघर्ष सकिएको छैन । जनयुद्धको आँखाबाट र सर्वहारावर्गीय आँखाबाट हेर्दा नेतृत्वको बद्मासीका कारण हाम्रा सपना हताहत भए । नेपाली जनताप्रति, नेपाल राष्ट्रप्रति प्रचण्ड, बाबुरामहरूको बेइमानीले सबै ध्वस्त बनायो । धोकाहरूको शृंखलामा दाहालहरूले महान् योगदान गरे । अघाएको जुकाजस्तो मैमत्त भएर हिँड्न थाले । अनि जनता भोकभोकै पर्न थाले ।

माओवादीभित्र गल्तीको यो शृंखला कहाँबाट सुरु भयो भन्ने लाग्छ तपाईंलाई ?

चुनवाङबाट भयो या कहाँबाट भयो समीक्षा गर्दै जाउँला । त्यो समीक्षा माओवादीभित्रका मान्छेले मात्रै गर्नुपर्छ भन्ने पनि छैन । जनताले यसको मूल्यांकन गर्नुपर्छ र फैसला पनि । सेनाको पुनःसंरचनाको कुरा थियो । राज्यकै पुनःसंरचनाको कुरा थियो । जनयुद्धमा दर्जनौ योद्धाको हड्डीसमेत गायव पार्नेहरूलाई तक्मा दिएर फुली थपिएको छ भर्खरै । सेना समायोजन अपमानजनक भयो भन्दा मैमाथि त्यस्तो नीच व्यवहार भयो ।

सरकार प्रमुख बनेका महोदयहरू जनतालाई खाने, लाउने व्यवस्था बनाउन सक्दैनन् र भोकमरी लागेका जनताको घरमा हेलिकोप्टर चढेर पशुपतिमा भिक्षा दान दिएझै चामल बाँड्दै हिड्छन् । यस्तो भएपछि उनीहरूले भनेको क्रान्ति पूरा हुन्छ रे † अनि उनीहरूले कहाँबाट गल्ती गरे भन्ने ? उनीहरूले गल्ती गरेका छैनन् । उनीहरूलाई त्यो तहको विश्वास गर्नु हाम्रो र नेपाली जनताको कमजोरी थियो ।

लडाइँका दिन सम्झदा फनफनी घुम्दै आउँछन् होला नि होइन ?

पिलीमा लडियो । लहानमा लडियो । बर्दियामा एउटा ठूलो टिम लिएर गएका थियौ । कमरेड जितले एउटा टिमको नेतृत्व गर्नुभएको थियो । मसहित सह–कमान्डर साथीले अर्को टिमको नेतृत्व गरेका थियौ । गणेशपुरमा कमान्डर ‘जित’ मारिनुभयो थुपै्र कमान्डर तहका साथीसहित ।
हेर्नाेस् त त्यत्रो बलिदान खोलाको पानीभन्दा सस्तो बनाए र बेचे दाहालहरूले ।

अर्घाखाची भिडन्तमा केही नोक्सानीका बाबजुद ठूलो उपलब्धि हासिल भयो । गण्डक अभियान अघि म सेनामा कमिसार थिए । सोही अभियानका क्रममा कमान्डरको जिम्मेवारीमा आए । स्याङ्जाको मनकामना भिडन्तमा घाइते भए । यस्ता कति घटना छन् कति जसलाई चाहेर पनि बिर्सन सकिन्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार