यो दश वर्षको शान्तिप्रक्रिया भनेको खासगरी नेपाली जनतामाथि एउटा विश्वाघात बनेर देखा परेको छ । नेपालको परिवर्तनको विरुद्धमा देखा परेको छ ।
धेरैले नेपालको शान्ति प्रक्रियामा चमत्कार भयो भनेर हल्ला गर्ने गरेका छन् । यो उल्टो चमत्कार हो । परिवर्तनको दिशातिर होइन कि परिवर्तनको संघारमा आएको जनताको आकांक्षालाई कुठाराघात गर्नका लागि उल्टो चमत्कार गरियो । परिवर्तनकारी जनतालाई ठगेर, विश्वासघात गरेर यो एकप्रकारको प्रतिगामी र प्रतिक्रान्तिकारी चमत्कार गरियो ।

शान्ति सम्झौतामा खासगरी शान्तिप्रक्रियामा राज्यको पुनर्संरचना गर्ने कुरा गरिएको थियो । सत्ताको संरचना गर्ने कुरा गरिएको थियो । त्यो भनेको जनमुक्ति सेना र नेपाली सेना मिलाएर नेपालको राष्ट्रिय सेना निमार्ण गर्ने कुरा थियो । संसदवादी र माओवादीका एजेण्डालाई जनताको बीचमा स्पष्ट बनाएर लैजाने कुरा थियो । देशलाई स्वाधिन बनाउने कुरा थियो । १९५० को सुगौली सन्धीसम्मका सबै सन्धिलाई खारेज गर्ने कुरा थियो । तर कुनै पनि भएनन् ।
यसमा सबै षडयन्त्रामुलक तरिकाले भयो । सम्झौताहरु यसप्रकारले भएको थियो तर ती सबै एजेण्डाका विरुद्घ षडयन्त्रामुलक तरिकाले भयो व्यवहारमा लागु हुँदा । हाम्रो पार्टीले के भनिरहेको छ भने जुन यो षडयन्त्र भयो यसलाई नेपाली जनताले पनि मान्नुपर्छ भन्ने छैन । यो जनताले मानिराख्नु पर्ने कुनै बाध्यताको कुरा छैन ।
शान्ति सम्झौता गर्दा जुन गलत ढंगले गरियो । यसमा सबै दोषी छन् । कांग्रेस र एमालेहरु मुख्य दोषी छन् । अनि प्रचण्डहरु पनि यसमा दोषी छन् । र, यसमा मुख्य दोष भनेको कांग्रेस र एमालेको छ । किनभने तिनीहरुले बढी षडयण्त्र गरे । उनीहरुले तत्कालीन एमाओवादीका नेताहरुलाई किनेर आफ्नो शक्ति जमाउनको लागि सुरक्षित गर्ने जुन बाटो अपनाए त्यो धेरै गम्भीर छ र षडयन्त्रमूलक छ ।
वास्तवमा शान्ति सम्झौता गर्दा नेपालको परिवर्तनको झण्डा बोकेको एउटा स्पष्ट दृष्टिकोण बोकेको माओवादी र कांग्रेस, एमालेलगायत ५-६ वटा संसदवादी पार्टीहरुको बीचमा भएको सम्झौता थियो ।
शान्तिप्रक्रिया गलत तरिकाले जानुमा जनताको आकांक्षामाथिको कुठाराघात हो । अब नेपाली जनताले यसलाई स्वीकार गर्नु पर्छ भन्नुको कुनै औचित्य छैन । यो जनताले मान्नुपर्ने कुनै कारण छैन ।
नेता बास्ताेलासँग जनपाटीसँगको कुराकानीमा आधारित







