नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले दश वर्ष लामो जनयुद्ध लडेका जनमुक्ति सेनालाई प्रचण्ड र बाबुरामले अपमानजनक ढंगले विघटन गरेको गंभीर आरोप लगाएका छन् ।
शान्ति सम्झौताका नाममा प्रचण्ड र बाबुरामले १९ हजार जनमुक्ति सेनालाई विघटन गरेको आरोप लगाए ।

आइतबार जनअधिकार सरोकार समाजले राजधानीमा गरेको वृहत अन्तक्रियामा बोल्दै डा. दीक्षितले शान्ति सम्झौताको दश वर्ष शान्ति र प्रगतिको वर्ष नभई कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुको लुटको वर्ष भएको आरोप लगाए ।
शान्ति सम्झौता भएपछि शिविरमा बसेका १९ हजार जनसेनाको नाममा आएको अर्बौ रकम प्रचण्डहरुले दुरुपयोग गरेकोमा नागरिक अगुवा डा. दीक्षितको अर्को गंभीर आरोप थियो ।
‘जनसेनाका नाममा आएका अर्बौ पैसा लुटियो । ती पैसा खोई ?’ दीक्षितले प्रचण्डहरुलाई लक्षित गरेर प्रश्न गरे- ‘शिविरमा खरबौं रकम गएको थियो । त्यो पैसा कहाँ गयो ? त्यो पैसाको हिसाब हामीलाई चाहियो ।’
शान्ति सम्झौताको दश वर्षमा माओवादीका तर्फबाट तीनपटक प्रधानमन्त्री भए पनि वेपत्ता समाजका परिवारले न्याय नपाएको डा. दीक्षितको आक्रोश थियो ।









