५२ वर्षदेखि कोलम्बिया सरकार र क्रान्तिकारी विद्रोही समुह रिभोलसनरी आमर्ड फोर्सेस फर कोलम्बिया (फार्क) बीचको द्धन्द्ध शान्ति सम्झौता नजिक पुग्दै गर्दा अमेरिका र पश्चिमी मुलुकहरुको उक्साउटपछि जटिल मोडमा पुगेको छ ।
क्युबाली नेता क्यास्त्रोको मध्यस्थतामा ४ महिनाअघि क्युबामा सरकार र फार्कबीच शान्तिवार्ता निश्कर्षमा पुगेको थियो । तर अमेरिका निकट रहेका प्रमुख प्रतिपक्षी दलले अहिले हतारमा शान्ति सम्झौता गर्ने बेला नभएको भन्दै विरोध गर्न थालेपछि शान्तिवार्ता संकटमा पुगेको हो ।

तर पनि सरकार र फार्क विद्रोही भने सम्झौतालाई तार्किक निष्कर्षमा लैजान लागिपरेका छन् ।
नोबेल शान्ति पुरस्कार विजेता तथा कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सन्तोषले पूर्वराष्ट्रपति अल्भारो उरिभले नेतृत्व गरेको प्रमुख विपक्षी दललाई समेत सहमतिमा ल्याउने प्रयास गरेका छन् ।
झन्डै ५२ वर्षदेखिको द्वन्द्व अन्त्य गर्ने गरी यसअघि भएको शान्ति सम्झौता जनमत संग्रहबाट थोरै मत अन्तरले अस्वीकृत भएपछि सरकार र विद्रोही फार्कका बीचमा नयाँ सम्झौता हुन लागेको हो ।
नयाँ सम्झौतामा फार्क विद्रोहीले गरेका विगतका कमजोरीहरूमा नरम हुने उल्लेख छ । तर प्रतिपक्षी दलले भने विगतका अपराधीलाई कुनै माफी दिन नमिल्ने भन्दै कडा कारबाही गर्नुपर्ने व्यवस्था गर्न माग राखेपछि सम्झौताले जटिल मोड लिएको हो ।
सन्तोषले संसदमा सो सम्झौताको पक्षमा मतदान गर्न संसद्का सदस्यहरूलाई दबाब दिएका छन् । संसद्मा सन्तोषको गठबन्धनको बहुमत छ । कोलम्बियामा झन्डै आधा शताब्दी चलेको द्वन्द्वका कारण झन्डै २ लाख ६० हजारको मृत्यु र लाखौं विस्थापित भएका थिए ।
साम्राज्यवादीहरु शान्ति होइन युद्ध चाहन्छन् भन्ने सन्देश कोलम्बियाको घटनाले देखाएको छ ।







