नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले क्युबाका महान् क्रान्तिकारी नेता फिडेल क्यास्त्रोलाई अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको एक उच्च शिखरको व्यक्ति भएको बताएको छ ।
सो पार्टीका अन्तराष्ट्रिय व्युरो इन्चार्ज धमेन्द्र बास्तोलाले एक प्रेस विज्ञेप्ती निकाल्दै क्यास्त्रोलाई आफ्नो राजनीतिक संघर्षको जीवनदेखि अन्तिमसम्म क्रान्तिकारी बनेर बाँचेको बताएका छन् ।

शनिबार राति एक विज्ञेप्ती जारी गरेर माओवादी नेता बास्तोलाले साम्राज्यवादको नाकैमुनि समाजवादको अभ्यासद्धारा क्युवा र क्युवाली जनतालाई साम्राज्यवादबाट मुक्ति दिलाउन नेतृत्वदायी भूमिका खेलेको बताएका छन् ।
आफ्ना केही सीमा र कमजोरीका बाबजुद क्यास्त्रोले समाजवादको रक्षा र साम्राज्यवाद विरुद्धको लडाइँमा एउटा चम्किलो तारा बनेको नेता बास्तोलाको विज्ञेप्तीमा उल्लेख छ ।
‘फिडेल क्यास्त्रो विश्वका धेरै देशका जनताको मुटुमा चम्किलो तारा बन्ने छन् ।’ बास्तोलाले विज्ञेप्तीको अन्त्यतिर भनेका छन्- ‘हामी अभिनन्दन गर्दछौं, क्युबाली जनताका नेता अनि कम्युनिस्ट आन्दोलनका उच्च नेतालाई ।’
शुक्रबार राती १० बजे क्युबामा क्यास्त्रोको ९० वर्षको उमेरमा निधन भएको थियो ।
क्यास्त्रोले सन् १९५९ देखि सन् २००८ सम्म पार्टी र सरकारको नेतृत्व गरेर आफुलाई एक सरल र सच्चा क्रान्तिकारी नेताका रुपमा स्थापित गर्न सके ।








