उत्तर पश्चिम चीनको लान्झोउबाट काठमाडौँका लागि मालबाहक रेल सेवा सुरु भएको ठिक एक महिनापछि दक्षिणको एउटा प्रमुख समुद्री बन्दरगाह रहेको ग्वान्झाओबाट नेपालका लागि मालसामान बोकेको रेल बुधबार छुटेको हो।
‘ग्वान्झाओ– दक्षिण एशिया अन्तर्राष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा’ नाम दिइएको मालबाहक रेल मंसिर १५ गते बुधबार ग्वान्झाओबाट औपचारिक रुपमा काठमाडौंका लागि प्रस्थान गरेको हो। व्यापारिक शहर ग्वान्झओस्थित ग्वाण्डोङ अन्तर्राष्ट्रिय रेलवे उद्योग आर्थिक क्षेत्रबाट पहिलो चरणको मालबाहक परिवहन सुरु भएको हो।

बुधबार सुरु भएको ग्वान्झाओ-काठमाडौंको रेल सेवा
चीनको ग्वाण्डोङ प्रान्तबाट आरम्भ भएर तिब्बत हुँदै नेपालको राजधानी काठमाडौंका लागि तय गरिएको यो नयाँ रुट हो।
नेपाल चीनबीच भएको व्यापार तथा पारबहन सम्झौता अनुसार तिब्बतको ल्हासामा पारबहन प्रोटोकल सम्झौताको प्रारम्भिक मस्यौदामा सहमती भएको दुई सातापछि नै चीनको एउटा मुख्य समुद्री बन्दरगाह रहेको ग्वान्झाओबाट नेपालका लागि मालबाहक रेल प्रस्थान गरेको हो।
ग्वाण्डोङ प्रान्तको ग्वान्झाओको तालाङ्गबाट सुरु भएर छेङ्दु, छोङछिङ, पश्चिम ल्हासा, पश्चिम सिगात्सेसम्म रेलबाट लगिने मालसामान त्यसपछि ट्रकमा केरुङ् हुँदै काठमाडौं पुग्नेछ। यसरी यसको कूल लम्बाई ६ हजार ७० किलोमिटर रहनेछ भने यातायातको कूल समय ५४ घण्टा लाग्नेछ।
मालबाहक रेलमा ढुवानी गरिएका मुख्य सामग्रीमा लत्ताकपडा, फर्निचर, विद्युतीय सामग्रीहरु रहेका छन् जसको कूल मूल्य १९ मिलियन चिनियाँ आरएमबी रहेको जनाइएको छ। ग्वान्झाओ–दक्षिण एशिया माल ढुवानी रेलमा आठ उच्चस्तरका क्याविनेट र १४ वटा कार्गो बक्स कार रहेको जनाइएको छ।
ग्वाण्डोङ (तिब्बत)–नेपाल रेलवे सञ्जालबाट ग्वान्झाओको अन्तर्राष्ट्रिय सम्पर्क दक्षिण एशियातर्फ विस्तार हुनेछ। यसले तिब्बत र ग्वाण्डोङको सांस्कृतिक तथा व्यापारको दूरीलाई अझै फराकिलो पार्नेछ। मालवाहक रेल काठमाडौंका लागि प्रस्थान गरेसँगै चिनियाँ विज्ञहरुले यसलाई चीनको दक्षिणी भेगको खुलापनमा कोषेढुङ्गाका रुपमा लिएका छन्।
यसैबीच एक पेटी एक मार्ग परियोजना अनुरुप बुधबार नै चीन–नेपाल व्यापारिक सहयोग लजिस्टिक (रसद) पार्क खोल्ने आशय पत्रमा हस्ताक्षर भएको छ। ग्वान्झाओको तालाङ क्षेत्रमा पार्क खोल्नका लागि यो हस्ताक्षर सम्पन्न भएको हो। यसबाट ग्वान्झाओमा रहेका नेपाली लगायत विदेशी व्यापारीका लागि रसद भण्डारण,प्रशासनिक अनुमोदन आदि सेवा, सुविधाका साथै उच्च प्रभावकारी व्यापारिक वातावरण सिर्जना हुने जनाइएको छ।

ग्वाण्डोङ प्रान्तको क्वाङ्वु होल्डिंग्स लिमिटेड कम्पनीले निकट दिनहरुमा नेपाली वाणिज्य च्याम्बर, तिब्बत स्वायत्त प्रदेश, सिन्च्याङ्ग स्वायत्त प्रदेशसँग सहयोग सम्बन्धको स्थापना गर्नेछ। स्थापना गर्ने चीन नेपाल औद्योगिक सहयोग आर्थिक क्षेत्रले ग्वाण्डोङ प्रान्तमा रहेका एक सय ५० नेपाली व्यापार कम्पनीलाई यस आर्थिक क्षेत्रमा राख्ने भएको छ।
सम्झौता हस्ताक्षर समारोहमा ग्वाण्डोङ प्रान्तीय सरकारका उपमहासचिव चाङ्ग आइच्यून, ग्वानझाओ नगरपालिका सरकारको वाणिज्य विभागका अधिकारी, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि, क्वारेन्टाइन र भन्सार निरिक्षण अधिकारीहरु, ग्वान्झाओ रेलवे ग्रुप, चाइना रेलवे कन्टेनर कर्पोरेसन, ग्वाण्डोङ होल्डिङ् ग्रूप, ग्वान्झाओ तासून अन्तर्राष्ट्रिय लजिस्टिक कम्पनी र अन्य जिम्मेवार निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो। नेपाल चीन औद्योगिक सहयोग रसद पार्क निर्माण सम्बन्धी आशय पत्रमा क्वाङ्वु होल्डिङ्ग ग्रूप र नेपाल–चीन चेम्बर अफ कमर्सका पदाधिकारीले हस्ताक्षर गरेका हुन्।
यो औद्योगिक पार्क ग्वाण्डोङ क्वाङ्गवु होल्डिङ्, ग्वान्झाओ रेलवे समूह, ग्वाण्डोङ फाइनान्स होल्डिङ्ग, तासुन अन्तर्राष्ट्रिय रसद कम्पनीद्वारा संयुक्त रुपमा संचालित आपसी तथा दीर्घकालीन योजना अन्तर्गत निर्मित पार्क हुनेछ। कुल २ करोड ६० अर्व चिनियाँ आरएमबी अनुमानित लागत रहने यस परियोजनाले ओगट्ने क्षेत्रफल १५सय एकड जमीन रहेको छ। दोश्रो चरणको लगानी २६ दशमलव ४ बिलियन रहनेछ। चरणवद्ध रुपमा चीन-रसिया, चीन-अफ्रिका लजिष्टिक पार्क निर्माण गरिनेछ।
अन्तिम परियोजनामध्ये आधुनिक उद्योग निर्माण, विमान सेवा, रेल यन्त्र सेवा, एकीकृत सेवा, व्यापारिक सेवा, भन्सार निकासी, सहरी रसद व्यवसाय आदि समेटिने औद्योगिक पार्क पनि बनाइनेछ। नेपाल–चीन लजिस्टिक पार्कको निर्माणबाट ग्वाङ्झौ सहर र दक्षिण एशियाली मुलुकबीच आदान प्रदानको मुख्य ढोका बन्नेछ।

एक महिना अघि सुरु भएको लान्झोउ काठमाडौं रेल सेवा
विशेषज्ञहरुको विश्वास छ कि यस परियोजना निर्माणमा नेपाल र चीनबीचमा समझदारी भएबाट एक पेटी एक मार्गको अवधारणालाई प्रवर्द्धन र कार्यान्वयन गर्न सहयोग पुगेको छ। साथै क्षेत्रीय विकासको नयाँ आयाम खोलेको छ।
एक महिनाअघि कात्तिक १४ गते चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट काठमाडौँका लागि दैनिक उपभोग्य तथा व्यापारिक सामान बोकेको मालवाहक रेल सेवा सुरु भएको थियो। ‘पहिलो चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय मालबाहक रेल सेवा’ नाम दिएर औपचारिक रुपमा कात्तिक १४ देखि सुरु भएको यो सेवा अन्र्तगत सातामा एउटा मालबाहक रेलले नेपालका लागि सामान ओसार्दै आएको छ, जसलाई अर्को महिनाबाट दुई वटा बनाउने तयारी छ ।
गत वैशाखमा भएको नेपाल–चीन पारवहन तथा व्यापार सम्झौता अनुसार लान्झोउ–काठमाडौँ मालबाहक रेल सेवा अनौपचारिक रुपमा गत वैशाख २९ गतेबाट नै सुरु भएको थियो। त्यसयता कात्तिक १४ गतेसम्म चार वटा मालबाहक रेलले एक सय २० कन्टेनरमा दुई सय मिलियन युयान बराबरको सामान सिगात्से पुर्याएको र त्यो सामान ट्रकमा लोड भएर केरुङ हुँदै काठमाडौँ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
लान्झोउ–सिगात्से दुई हजार चार सय ३१ किलोमिटर रेलमार्ग र त्यसपछि ट्रकमा ५ सय ६४ किलोमिटर सिगात्से–केरुङ–रसुवागढी सडक हुँदै दश दिनमा सामान काठमाडौँ पुग्ने बताइएको छ ।
नेपालखबरबाट ।







