तिहारको तेस्रो दिनपछि अर्थात् कार्तिक १८ गते बेलुकी म काठमाडौंबाट गृह जिल्ला रोल्पा हान्निए ।

दशैं अगाडि सदरमुकाम लिवाङमा जिल्ला पार्टीद्धारा आयोजित अन्तरजिल्ला नेता–कार्यकर्ता भेलाको समयमा पनि जिल्ला पुगेको थिए । सो भेलामा मैले जिल्लाको दक्षिण क्षेत्रमा तिहारपछि फर्केर १५ दिन खटिने जिल्ला पार्टीलाई प्रतिबद्धता जनाएको थिए ।

ropla-1

रोल्पामा जिल्ला पार्टी नेता- कार्यकर्ताहरु

दक्षिण क्षेत्र भन्नाले खुंग्री, घोडागाउँ, जौलीपोखरी, मसिना र होलेरी पर्दछ । मेरो गाउँ खुग्री हरिगाउँ भएको र त्यसबाहेक अरु गाविसका गाउँमा पनि केही समय खटिने प्रतिबद्धताअनुरुप यसपटक १२ दिन रोल्पामा रहे ।

मेरो पार्टीको जिम्मेबारी उपत्यका व्युरो भएको र काठमाडौंमा धेरै समय दिनु पर्ने भएकोले गृह जिल्लामा खासै समय दिन नसकिदो रहेछ । यसपटक जिल्लाको दक्षिण क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य सन्तोषी विक दिदीसँग घुमियो ।

दुई वर्षपछि आफ्नै घर खुंग्री हरिगाउँ पुग्दा तिहारको मुख्य दिनहरु सकिए पनि कार्तिक १९ गते तिहारको केही रहलपहल बाँकी थियो । तिहारको पाँचौ दिनसम्म पनि गाउँमा भैलो खेल्ने परम्पराले गाउँलेहरु अन्तिम दिनको भैलो खेल्दै थिए ।

परम्परागत तिहारसँग हामी क्रान्तिकारीहरुको खासै सरोकार नरहने हुँदा गाउँ पुगेको दिनलाई मैले गाउँघरका आफन्तहरुसँग दुई वर्षपछिको भेटघाटलाई राजनीतिक भेटघाटको रुपमा सदुपयोग गरे ।

कार्तिक २० गते दाङबाट सन्तोषी दिदी आएपछि हामी घनिभूत भेटघाट र छलफलमा लाग्यौं ।

दुई वर्षपछि घर पुगेको र ७० वर्ष पुगेका बुबालाई एकैछिन सन्चो–बिसन्चो सोध्नु बाहेक अरु खासै समय दिन सकिएन । गाउँमा पुग्दाको सुरुको दिन जनयुद्धमा सँगै खटेका साथी–भाईसँग भेटघाट र छलफलमा बढी समय खर्च गरियो । हिजो जनयुद्ध कालमा सँगै पूर्णकालीन भएका गाउँका स्थानीय नेताहरु शान्तराम सेन चिन्तन, रामचन्द्र थापा परिवर्तन, विष्णु थापा र अरु साथीभाईसँग भेटघाट गरियो । जो उनीहरु मभन्दा उमेरले निकै सिनियर पर्दछन् ।

दुई वर्षको लामो ग्यापपछि भएको हाम्रो भेटघाटले ती साथीहरुलाई पार्टीको पछिल्लो रणनीति र कार्यनीतिबारे निकै कम जानकारी रहेको देखियो । भेटघाट र छलफलपछि हामीले उनीहरुलाई धेरै हदसम्म पार्टीको पछिल्लो कार्यदिशा र कार्यक्रमबारे स्पष्ट र उत्साही बनाउने काम भयो ।

कार्तिक २१ गते हामी खुंग्रीको महेन्द्री गाउँ लाग्यौं । जहाँ सहिद परिवारसँग भेटघाट गरियो । ०६० को चरम संकटकाल समयमा यो गाउँबाट शान्तराज घर्ति स्कुल पढ्दा पढ्दै पूर्णकालीन भएका थिए । पछि जनमुक्ति सेनाको सदस्य बनेका उनी सल्यानको रातामाटे टावरमा आक्रमण गर्दा सहिद भएका थिए । उनै सहिद आमा (मेरो नाताले फुपु पर्ने) सँग भेटघाट गरियो । उनले हामीसँगको भेटमा हिजो जनयुद्धमा आफ्ना छोरालाई मराएर प्रचण्डहरुले अहिले धोका दिएको बताए । प्रचण्डले धोका दिए पनि हामीले धोका दिने छैनौ भनेर प्रतिबद्धता व्यक्त गयौं ।
त्यहाँबाट हामी बेलुकी घोडागाउँ लाग्यौं । जुन गाउँमा हामीले दोस्रो दिनसम्म बितायौं । हिजो प्रचण्ड–बाबुरामसँगको वैचारिक लडाइँमा सँगै लडेका तर हाल वैद्य पक्षमा रहेका शशिराम कुँवर संकल्पसँगको बसाइँ निकै रमाइलो भयो । वैद्यसँग हामी अलग भएपनि उनी हाम्रो विप्लव माओवादीसँग कुनै विमति नरहेको देखियो ।

दुई दिन उनै संकल्पजीको घरमा सुतियो । जनयुद्ध कालमा उनी र उनको श्रीमती रचना शाह पूर्णकालीन भएर लामो समय योगदान गरेका इमान्दार कार्यकर्ता हुन् । जनयुद्धले धक्का खाँदा धेरै नेता कार्यकर्ताको अवस्था निकै भताभुंग भएजस्तै उनीहरुको जीवनस्तर पनि उस्तै देखियो ।

घोडागाउँको बसाइँमा हाम्रो पार्टीका स्थानीय नेताहरु भरत नेपाली र प्रदीप कुँवर भाईहरुसँग भेटघाट गरियो । उनीहरुले भर्खरका युवा र दलित समुदायका साथीहरुसँग छलफल गर्ने समय मिलाइदिए । छलफल राम्रो भयो । साथै हामीले घोडागाउँ उच्च माविका शिक्षकहरुसँग पनि छलफल गर्यौ ।

rolpa-44

खुंग्रीको महेन्द्रीमा सहिद शान्तराज घर्तीको आमासँग पंक्तिकार

कार्तिक २३ गते पुनः हरिगाउँ फर्कियौं । जहाँ मावि स्कुलका शिक्षकहरुसँग अर्को वृहत छलफल र अन्तक्रिया कार्यक्रम गर्यौ । राम्रो भयो । दिउसो छलफल सकेर हामी खुंग्रीकै गोगनपाने गाउँमा बाँस बस्न पुग्यौं । जहाँ जनयुद्धमा लामो समय पूर्णकालीन भएका जोडी बस्छन् । भीम गिरि राजीव र उनको श्रीमती, जसले जनयुद्धमा ठूलो योगदान गरे तर अहिले पूरानै घर गृहस्थीमा फर्कनु परेको दयनीय अवस्था देखियो ।

कमरेड राजीवसँग मैले राति झण्डै १२ बजेसम्म छलफल गरे । छलफलमा हाम्रो पार्टीको पछिल्लो कार्यदिशा एकीकृत जनक्रान्तिको बारेमा लामो कुराकानी भयो । क्रान्तिप्रतिको आस्था र विश्वास नटुटेको तर अबको क्रान्ति कस्तो हुन्छ भन्नेबारे थोरै अन्योल र आशंका रहेको देखिन्थ्यो । अन्तिममा छलफलबाट धेरै हदसम्म अन्त्य गर्ने काम भयो ।

अर्को दिन अर्थात् कार्तिक २४ का दिन हामी लिवाङ पुग्यौं । लिवाङमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमरेड विजय, जिल्ला सेक्रेटरी कमरेड जागृति, कमरेड सुन्दर वली, एनार्जन बुढालगायत कमरेडहरुसँग जिल्लाको पछिल्लो अवस्थाबारे छलफल भयो । जिल्ला सेक्रेटरी जागृतिले प्रचण्ड–बाबुरामको गद्धारी र धोकाका कारण जिल्लामा केही निराशा र अन्योलता रहेपनि हामीहरुको स्थिति राम्रो रहेको बताउनु भयो । हामीले पनि आफु खटिएको गाउँहरुको संक्षिप्त रिपोट राख्यौं ।

rolpa-55

रोल्पा खुंग्रीको गोगनपानेका जनयुद्धकालका पूराना कार्यकर्ता भीम गिरि राजिव र उनको परिवार ।

त्यसपछि हामी कार्तिक २५ गते पुनः खुंग्री गाउँहुँदै हरिगाउँ फर्कियौं । जहाँ हामीले स्थानीय साथीहरुसँग छलफल गर्नु थियो । सदरमुकामबाट हामी सिधै खुंग्री माविमा झर्यौ । जहाँ शिक्षकहरुसँग छलफल भयो । जुन छलफलले शिक्षकहरुमा पर्न गएको हाम्रो पार्टीको भ्रमलाई धेरै हदसम्म स्पष्ट गर्ने काम भयो ।

कार्तिक २६ गते आफ्नै गाउँमा पार्टीका साथीहरुसँग छलफल गरियो । तिहारलगत्तै गँहु रोप्ने कामले धेरै साथीहरुसँग छलफल हुन नपाएपनि उपलव्ध साथीहरुसँग राम्रै छलफल भयो । यो छलफलपछि हामी मसिनाका लागि अर्को दिन अर्थात् कार्तिक २७ गते यात्रा थाल्यौं ।

घोडागाउँको थुम्पाकीहुँदै उकालो काटेर जानु पर्ने बाटो परेकोले दिदी सन्तोषीलाई पैदल हिडाइँमा धेरै केहीसम्म मुस्किल बनाएपनि हाम्रो यात्रा अगाडि बढ्यो । उमेरले ५० वर्ष पार गरेकी दिदीको पैदल हिडाइँ प्रेरणादायी थियो । त्यो दिनको बेलुकी हामी जौलेपोखरीको गुरनेटा पुग्यौं । जहाँ कार्तिक २८ गते मसिनाको सुर्पालमा छलफलमा पुग्नु पर्ने थियो । त्यो दिनको छलफल पनि राम्रै भयो । यसपछि त्यही दिन म दाङहुँदै काठमाडौ फर्किए ।

rolpa-3333

रोल्पा घोडागाउँमा स्थानीय नेता कार्यकर्तासँगको छलफल

समग्रमा यसपाली रोल्पाको दक्षिण क्षेत्रको जनभेटघाट कार्यक्रम निकै नयाँ र अविस्मरणीय रह्यो । जनयुद्धकालीन घुमफिर गरेका कयौं गाउँको भेटघाटले दश वर्षे जनयुद्धका चित्रहरु मानसपटलमा घुमिरह्यो ।

०५५ सालमा पूर्णकालीन भइयो । त्यो बेला जनयुद्धमा भूमिगत भएर घुम्दाको गाउँ र जनताको जे स्थिति थियो, अहिले पनि उस्तै स्थिति छ । गाउँ उही छ । मान्छे उस्तै छन् । ०५२ देखि सुरु भएको जनयुद्ध आज आउँदा २० वर्ष हुन्छ तर जनताको जीवनस्तरमा कुनै परिवर्तन आएको छैन ।

बरु अहिले पछिल्लो समय । खासगरी शान्ति प्रक्रियाका दश वर्षको समय भनेको सिंगो समाज यति जोडले विघटित भइरहेको छ कि त्यसलाई कसैले पनि रोक्ने सक्ने स्थिति छैन । हिजो जनयुद्धमा त सिंगो गाउँका समाज यति अनुशासित थियो । गाउँ घरमा कुनै विकृतिका घटनाहरु देख्न पाइदैनथ्यो ।

तर पछिल्ला दिनमा सिंगो गाउँ  सामाजिक व्यथिती र अराजकताले तीव्र रुपमा विध्वंश र विघटनतिर गइरहेको छ । गाउँको व्यथिति हेर्दा श्रीमान विदेश छ । श्रीमती अर्काको लोग्नेसँग हिड्छ । जाँड र रक्सी खाएर विदेश गएको श्रीमानको पैसामा मोज गर्छ । अनि गाउँमा भएको श्रीमान भट्टी पसलमा जाँड खाएर समय बिताउँछ । श्रीमतीले गाली गर्न खोज्यो, उल्टो पिटेर हैरान बनाउँछ । समाज ठूलो विघटनतिर गइरहेको छ यतिबेला ।

rolpa-2

रोल्पाको जौलेपोखरी गुरनेटामा अचानक भेटिएका माओवादीका पूराना कार्यकर्ता विमल विकसँग

कसले रोक्ने यसलाई ? गाउँका इमान्दार र सोझा नागरिक भन्ने गर्छन्,‘यस्तो विकृतिलाई रोक्न फेरि गाउँमा जनयुद्ध आयो हुन्थ्यो ।’ यो पीडा समग्र जनताको हो ।

समग्रमा यसपटकको रोल्पाको राजनीतिक भेटघाट निकै पृथक र अविस्मरणीय रह्यो । सिंगो गाउँ र समाज विकृति र अराजकतातिर गइरहेको बेला आम जनताको चासो र चिन्ता पुनः नयाँ र वैकल्पिक सत्ताको माग भइरहेको देखियो । जो त्यो मागलाई हिजो जनयुद्धकालको स्थानीय जनसत्ताले पूरा गरेको थियो ।

रोल्पा दक्षिण बेल्टको घुमघामबाट फर्केपछि ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार