माओवादी केन्द्रका शीर्ष नेतामध्ये पर्ने टोपबहादुर रायमाझी प्रचण्डलाई छोडेर एमालेमा जाने भएका छन् ।
संविधान संशोधनको विवादमा माओवादी केन्द्रका अध्यक्षसँग परेको विवाद उत्कर्षमा पुगेपछि उनी माओवादी केन्द्रमा बस्न नसक्ने भएका छन् ।

उनले लामो समयदेखि माओवादी केन्द्रमा संशोधनको विरुद्धमा उभिएका थिए ।
माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्न तम्सिरहेका रायमाझीले एमालेका नेताहरुसँग छलफल पनि गरिरहेको एमाले उच्च स्रोतले बतायो ।
एमालेमा उनको हैसियत कुन स्तरको हुने भन्ने सवालमा अहिले छलफल चलिरहेको र उनलाई स्थायी समिति या माथिल्लो हैसियत दिए रायमाझी एमालेमा जान तयार हुने भएका छन् ।
उच्च स्रोतका अनुसार रायमाझीको गृहजिल्ला अर्घाखाचीमा एमालेको पकड कमजोर भएको र त्यसलाई पूरा गर्न उनलाई एमालेमा जरुर आवश्यक भएको एमाले नेताहरुको जोड रहेको छ ।
कुनै पनि हालतमा अब माओवादी केन्द्रमा बस्न नसकिने निचोडमा रहेका रायमाझीको यो निर्णयले माओवादी केन्द्रमा ठूलो झट्का लाग्ने राजनीतिक विश्लेषकहरुको राय रहेको छ ।







