प्रिय थबाङ !
कस्तो छ तिमीलाई ?
जुन दिन रक्तिम सपनाहरूमा
बगरेहरूले
अोैसीको चुक घोप्टाइदिए
त्यस दिनदेखि
बिसन्चो छ मलाई ।

प्रिय थबाङ !
आस्थाको सगरमाथा
सधैं सतिसाल झै उभिरहने
क्रान्तिको तुफानी केन्द्र
मलाई साँच्चै भनिदेऊ न
यस घडीमा कस्तो छ तिमीलाई ?
म त यस घडीमा
माहु हराएको चल्ला भए
साँहु हराएको ब्याज भए
त्यसैले होला
बाध्यताको भुमरीले
तिमीदेखि केही पल
पराइँ भएको छु
क्षितिज पारी प्रदेशमा
सात समुन्द्र छिचोल्दैछु
प्रिय थबाङ !
कहिल्यै नझुक्ने इतिहास
अजम्बरी लाल बस्ती
म टाढा भए पनि
तिम्रो मायाँ गाढा छ
तिमीसँग लुकामारी गरेको
ती कालजयी क्षणहरू
कसरी भुल्न सक्छु र ?
कात्रो पिठ्युँमा बाँधेर
उन्मुक्तिको पक्षमा
युद्ध मैदानमा लड्दा
बिजयमा खसेका हर्षका आँसु
पराजयमा झरेका पिडाको आँसु
र हाम्रो अधुरो यात्रा
कसरी भुल्न सक्छु र ?

कवि सिताराम केसी
प्रिय थबाङ !
जलजलाको न्यानो काख
श्रमजीवी वर्गको धरोहर
गद्द्दाहरूले घात गरे भन्दैमा
तिम्रो युगोैदेखिको संकल्पमाथि
कायरहरूले बलात्कार गरे भन्दैमा
रूक्ने छैन क्रान्ति
सुक्ने छैन भेरी, राप्ती, कर्णाली
फेरी पुर्व क्षितिज खुल्दैछ
अोैसीको विरूद्ध पूर्णिामाले
लाली छाउँदैछ
गद्द्दाहरूलाई सीमा कटाउन
बलात्कारीहरूलाई सुली चढाउन
क्रान्ति फेरि जन्मिएकाे छ ।
तिमी बदलाभावको
हुंकार बनेर बस
छरिएका माल चरीहरू
जुट्दैछन् / फेरि उठ्दैछन्
हो, प्रिय थबाङ !
तिमीसँग सल्लाह गर्न
प्रतिक्रान्तिका डंगुरहरू जलाउन
सेतो आंतकलाई
मसानघाटमा पुर्याउन
क्रान्ति हुरी चराको गीत बनेर
छिट्टै, तिम्रो बस्तीमा आउँदैछ।
प्युठान, हाल मलेशियाबाट ।







