महोत्तरीको फुलकाहा —८ का हरिनारायण चौधरी तत्कालिन माओवादी जनमुक्ति सेनाको एक बफादार सिपाही थिए । तर उनी अहिले अरुको सहारामा १४ बर्षदेखि अस्तित्वहिन जीवन बिताइरहेका छन् ।
चौधरी १४ वर्ष अघि परिवर्तनका कुरा गर्दै देशमा गरिव तथा विपन्न जनताको शासन र भाषण चल्नु पर्छ भन्दै बन्दुक बोकेर जंगल पसेका थिए । उनीजस्तै सिपाहीहरुको संघर्षको परिणामस्वरुप गणतन्त्र आयो, राजसंस्था ढल्यो । तर चौधरी भने अहिले दिन रात आँखाबाट आँसु पुच्दै अरुको आशामा दिनहरु विताइरहेका छन् ।

जनयुद्धका घाइते हरिनारायण चौधरी
सिरहाको बन्दिपुरमा वि.सं. २०५९ सालमा शाही नेपाली सेनासँग भएको भिडन्तमा उनी घाइते भएका थिए । भिडन्तमा गोलीको छररा लागेर हात र खुट्टाका औलाहरु कामै नलाग्ने भएपछि उपचारको क्रममा चिकित्सकले औला काटिदिए ।
त्यसपश्चात उनको जीवनको साहारा निर्जीव बाँसको लट्ठी बन्यो तर सजीव प्रचण्ड सरकारको सहारा नभेटिएको उनी बताउँछन् । जीवनको कथाव्यथाको पन्ना पल्टाउँदै गर्दा उनको आँखाबाट आँसु खस्यो । मधुरो स्वरमा आँखाको आँसु पुच्छै उनले भने, ‘म थलिएर बसेको छु, कहाँ छ प्रचण्ड सरकार !’
देशमा शान्ति स्थापनाका लागि सरकार र माओवादी पक्षबीच २०६३ साल मंसिर ५ गते वृहत्त शान्ति सम्झौता भएको एकदश वितिसक्दा पनि घाईते चौधरी अवस्था बुझन सरकार उनेको घर सम्म आइपुगेको छैन ।
अपाङ्ग भएपछि वि.सं २०६७ सालमा उनले महिला तथा बालबालिका कार्यालय महोत्तरीबाट ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन् । तर अपांगता सुरक्षा भक्ता अहिलेसम्म पाएका छैनन् । सरकारले ‘क’ वर्गका प्रमाणपत्र पाउनेलाई मात्र अपाङ्गता सुरक्षा भक्ता दिने व्यवस्था गरेको छ । श्रीमती, २ जना छोरा र १ छोरी रहेको उनको परिवार मजदुरीको भरमा चल्दै आएका छन् ।
श्रीमतीले वनिवुतो गरेर हरिनारायण र छोराछोरीलाई पाल्दै आएकी छिन् । आफुहरु जस्तो अरुको साहरामा बाँच्ने अपाङ्गहरुलाई सरकारले उचित व्यवस्था गर्नुपर्ने हरिनारायणको माग छ ।
रातोपाटीबाट







