नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेकपा (एमाले) लाई कडा चेतावनी दिएको छ ।
नेकपा (एमाले) ले बुटवलमा आयोजना गरेको बैठक कक्षमै पुगेर विप्लव माओवादीले एमालेलाई कडा चेतावनी दिएको हो ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै विप्लव माओवादी जिल्ला सेक्रेटरी शरद वली
बुटवलमा सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लव माओवादी आक्रोशित हुँदै एमालेलाई चेतावनी दिएको छ ।
शनिबार नेकपा एमालेले बुटवलमा आयोजना गरेको सर्वदलीय बैठकमा विप्लव माओवादीका रुपन्देही सेक्रेटरी शरद वलीले आन्दोलनको कार्यशैली नफेरिए एमालेका ७५ वटै जिल्लामा रहेका जिल्ला कार्यालय र एमालेका देशभरका प्रतिष्ठानमा कारवाही गर्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।
वलीले आफुहरु जनयुद्धबाट आएको र अहिले पनि संघर्षमै रहेको हुँदा कार्यशैली सुधार नभए प्रतिवादमा उत्रिने कडा चेतावनी दिए ।
प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला टुक्राउने गरी सरकारले ल्याएको संशोधन प्रस्तावको विरोधमा बुटवलमा बिहीवार सहिद स्मारक तोडफोड गर्नुको साथै विप्लव माओवादीको कार्यालयमा समेत आक्रमण भएको थियो ।
उक्त आक्रमणमा एमालेले आफ्नो संलग्नता नरहेको जनाएपनि उसैले आन्दोलन गरेको हुदा जिम्मेवारी लिनु पर्ने दबाब बढेको छ ।







