हरि पुनमगर,
लामो समयदेखि कुपण्डोल कार्यालयको भवन र त्यहाँको सामान कस्ले लिने भन्ने विषयमा वैद्य माओवादी र माओवादी केन्द्रबीच हानाथाप चलिरहेको छ ।
कार्यालयको विषयमा यी दुई माओवादीको विवादबाट स्थानीयहरु अचम्मित समेत भएका छन् ।

यो कार्यालय कस्ले लिने भन्ने यी दुई माओवादीको विवादमा ती दुई माओवादीहरुको कुनै अधिकार नभएको सो कार्यालयमा कार्यरत पूर्व कार्यालय सदस्य रामशरण न्यौपानेको भनाई छ ।
उनका अनुसार अहिले वैद्य र प्रचण्ड माओवादीबीचको झगडा कार्यालय कसले लिने र त्यहाँ भएको मंहगा सामानहरु कुन समुहले हडप्ने भन्नेमा मात्र रहेको छ ।
तत्कालीन एमाओवादी पार्टीमा दुई लाईन संघर्ष सुरु भएपछि त्यो बेला क्रान्तिकारी धारा वैद्य समूहले जोडेको ब्ल्यांकेट (लगभग २५०० भन्दा बढी), म्याट, त्रिपाल लगायत साउण्ड सिस्टमका सामाग्रीहरु थिए ।
एमाओवादी फुटको संघारमा पुगेपछि पूर्व कार्यालय सदस्य रामशरण न्यापानेले खण्डा गार्मेटबाट कुपण्डोल कार्यालयमा ल्याएका थिए । त्यही दिन ती सामानहरु क्रान्तिकारी समुहको कार्यालयमा लगेको थाहा पाएपछि राती रामशरण न्योपाने बस्दै आएको कोठालाई एमाओवादी टे«ड युनियनका नेता बाबुराम गौतमको नेतृत्वमा रहेको समुहले तोडफोड गरेर सामान जलाएका थिए ।
त्यो बेला प्रचण्ड समुहसँग लड्ने अधिकांश नेता र कार्यकर्ता विप्लव माओवादीमा आइसकेकोले अहिले सो सामानको विषयमा कुपण्डोलमा वैद्य माओवादी र माओवादी केन्द्रले दावी गर्नुको कुनै औचित्य नरहेको पूर्व कार्यालय सदस्य न्यौपानेको दाबी छ । बरु उनको भनाईमा यो सामानको हकदार विप्लव माओवादी हो ।
प्रेस काण्डमा हितमान र दिनेशको हात
तत्कालीन एमाओवादीका भ्याली इन्चार्ज हितमान शाक्यको पहलकदमीमा दुई ठूला मेसिनसहितको व्यवस्थित प्रेस नयाँ बसपार्कमा सञ्चालन भएको थियो । त्यसको व्यवसथापन सही ढंगले नहुँदा आज प्रेस बेचिएको छ ।
त्यहाँ काम गर्ने कम्पयुटर अपरेटर रामशरण न्यौपानेका अनुसार पछिल्लो समयमा प्रेसका बारेमा हितमान र भीष्महरुले कुनै वास्ता नै गरेनन् । अहिले पछिल्लोपटक वैद्य माओवादीका नेता दिनेश शर्माले एक जना व्यापारीलाई बेचेर पैसा कुम्ल्याएका छन् ।
त्यहाँ काम गर्ने रामशण न्यौपानेले पटकपटक आफ्नो तलबको ताकेता गरिरहेपनि दिनेश शर्माले दिन्छु भनेर पनि नदिएको न्यौपानेको भनाई छ । अहिले आएर २ वर्ष हुँदापनि वैद्यका नेता शर्माले थोरै पनि पैसा नदिएको न्यौपानेको दुखेसो छ ।
‘अहिलेसम्म थोरै पनि पैसा दिएको छैन । उताबाट पैसा लिएर जाँडपानी गरेका छन् ।’ प्रेसमा लामो समय अपरेटर काम गरेका न्यौपाने भन्छन्– ‘उनीहरुले अब त्यो प्रेसको हिसाबकिताब प्रस्तुत गर्नुपर्छ र प्रेसको स्वामित्व विप्लव माओवादीले लिनुपर्छ ।’







