नेत्र विक्रम चन्द विप्लव माओवादीबाट केही समय अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका तिलक परियार हिजोआज आफ्नै पार्टीको भेला र प्रशिक्षणमा विप्लव माओवादीले नै क्रान्ति गर्ने बताउन थालेका छन् ।
केही हप्ता अगाडि गृह जिल्ला बाँकेको नेपालगंज पुगेका माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी सदस्य समेत रहेका परियारले जिल्ला प्रशिक्षणमा कार्यकर्तालाई प्रशिक्षण दिदै अब देशमा कसैले क्रान्ति गर्छ भने त्यो विप्लवले मात्र गर्ने बताएका थिए ।

माओवादी आन्दोलन विभाजन भएको, त्यो सबै दोष मुख्य नेतृत्वबाट हुने गरेकोले अबको नयाँ क्रान्ति नयाँ र युवा नेतृत्वबाट हुने परियारको भनाई थियो ।
अबको नयाँ र युवा क्रान्तिकारी नेतृत्व विप्लव मात्र भएको परियारको भनाईको स्पिरिट थियो ।
परियारको अभिव्यक्तिबाट माओवादी केन्द्रका नेताहरु समेत आश्चार्यचकित भएका थिए ।
विप्लव माओवादीबाट माओवादी केन्द्रमा प्रवेश गरेका परियारले के के न पाइन्छ भनेर गएका आजकाल भित्राभित्रै उनी निकै अन्योल र निराशमा रहेको उनीनिकट रहेका माओवादी केन्द्रका कार्यकर्ताहरु बताउने गर्छन् ।
प्रचण्डले आफ्नो पार्टीमा आएपछि परियारलाई दिएका ठूल्ठूला आश्वासनहरु पूरा नगर्दा पनि उनी प्रचण्डसँग चरम रुपमा असन्तुष्ट भएका छन् ।
विप्लव माओवादीमा छदा महासचिव विप्लवदेखि सबै नेता–कार्यकर्ताहरुको क्रान्तिकारी स्पिरिट र सरल जीवनशैली देखेका परियार माओवादी केन्द्रमा प्रचण्डदेखि पूरै नेता–कार्यकर्ताहरुको भ्रष्ट र अपारदर्शी कार्यशैलीबाट वाक्क भएको उनको परिवारिक स्रोतले बताउने गरेको छ ।







