विश्वको चर्चित आर्थिक पत्रिका ‘द इकोनोमिस्ट’ले केही हप्ताअघि तेलसम्वन्धी भविष्यवाणी गरेर एउटा लामो विश्लेषण गर्यो ।

उसको विश्लेषण र भविष्यवाण्ी छ– अबको चार वर्षपछि विश्वभरिबाट तेलको भविष्य लगभग समाप्त भएर जानेछ ।

तेलको उत्खनन् भएको एक सय वर्ष पूरा हुनु र यसले विश्व समाजमा पारेको वातावरणीय दुर्गन्ध र पर्यावरणीय असरका कारण अबको विश्वले तेलको विकल्प खोज्न थालेको छ ।

future-of-oil-pp77

यसैका कारण अब अरब विश्व, अमेरिकी र ल्याटिन अमेरिकी विश्वमा तेलको भविष्यमा संकट आउनेछ ।

उसो भए तेलको विकल्प के हुनेछ त ? अबको विश्वले विद्युत, प्राकृति ग्याँस र जैविक इन्धनबाट तेलको मागलाई प्रतिस्थापन गर्नेछ । पेरिस सम्झौताका पक्षधर राष्ट्रकाअनुसार सन् २०२० देखि संसारभर तेलको उपभोगमा उल्लेख्य कमी आउने छ ।

‘तपाईं विश्वास गर्नुस् या नगर्नुस्, तर कोइला र तेलको सट्टा कम कार्बन उत्सर्जन गर्ने इन्धनतर्फको यात्रा नरोकिने ढंगले अघि बढिसक्यो,’ लगानीसम्बन्धी अनुसन्धान गर्ने ‘बेर्नस्टेइन’ नामको संस्थाले लेखेको छ, ‘अन्ततः यसले तेलको युग समाप्त गर्नेछ ।’

वायु प्रदूषण र सडक जामका कारण चीन र भारतले पट्रोल र डिजेलको विकल्प हेर्न सुरु गरेका हुन् । कार उत्पादक कम्पनी टेस्ला, चेभ्रोले र निसानले लामो दुरीसम्म बिजुलीले चल्ने कार उत्पादन गर्ने घोषणा गरेका छन् । अनुदान हुने हो भने यस्ता गाडीको मूल्य सस्तो हुनेछ ।

सबभन्दा महत्वपूर्ण कुरा त, कुल ग्राहस्थ उत्पादनमा ‘ऊर्जा’ को भूमिका कम हुँदै गएको छ ।

आजभन्दा सय वर्षअघि घोडाको लिदीलाई विस्थापित गर्न तेलको विकल्प छानेको यो संसारमा आज त्यही खनिज तेल विस्थापित गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो प्रक्रियाको गति भने सुस्त छ ।

कारण के थियो भने यो सय वर्षमा तेलले संसारको इतिहास त बदल्यो, तर यही अवधिमा तेल पोखिएर यो संसारको वातावरण विनाश पनि भयो । अनि यो सय वर्षमा तेलले मानव जीवनलाई गतिशील त बनायो, तर सँगै तेलको लोभले मानव जीवनलाई युद्धको विध्वंसमा पनि धकेल्यो ।

इन्धनको प्रयोगमा आउने परिवर्तनले वित्तीय स्थायित्वमा व्यापक प्रभाव पार्ने भन्दै ‘बैंक अफ इङ्ग्ल्यान्ड’ का गभर्नर मार्क कार्नेले सचेत गराएका छन् । पेट्रोल उपभोग ओरालो लागे विश्वका ८० प्रतिशत खनिज तेलका खानीहरू बेकामे हुने उनको आँकलन छ ।

जलवायु परिवर्तनको मुद्दा विश्व राजनीतिको मूलधारमा आएपछि पश्चिमका तेल उत्पादक कम्पनी पनि संकटबाट गुज्रँदै छन् ।

अमेरिकी निकायहरूले विश्वकै सबैभन्दा ठूलो निजी तेल कम्पनी ‘एक्सोनमोबिल’ का बारेमा अनुसन्धान गर्दैछन् । जलवायु परिवर्तनको नीतिले उक्त कम्पनीका तेल खानीमा पर्न सक्ने जोखिम पत्ता लगाउनु अनुसन्धानको उद्देश्य हो ।

तेल लगानीकर्ताहरू भने जलवायु परिवर्तन नीति लागू भएपछि आफ्नो व्यापार कसरी बचाउने भनेर चिन्तित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार