नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनयुद्धमा लडेर घाइते भएका योद्धालाई एउटा मार्मिक चिठ्ठी लेखेका छन् ।

केही दिन अघि मलेशियामा रहेका जनयुद्धमा घाइते योद्धा विवशकुमार सेजुवालले महासचिव विप्लवलाई एउटा लामो खुला पत्र लेखेका थिए । त्यसको जवाफी पत्रमा विप्लवले आफ्नो पत्र लेखेका छन् ।
विवश कुमारले लेखेको पत्रलाई फेसबुकबाट उनले जवाफी पत्र लेखेका हुन् ।
पत्रमा विप्लवले प्रचण्ड बाबुरामको धोका र गद्दारीले क्रान्तिको गति नरोकिने भन्दै नेपाली जनताको मुक्तिको सपना अब छिटै पूरा हुने बताएका छन् ।
अरु बाँकी विप्लवको पत्रबाट
प्रिय भाई विवश न्यानो अभिवादन
तपाईको पत्र फेसबुकमा पढने मौका मिल्यो । धेरै टाढाबाट लेखेको पत्र पढ्दा खुसी त लाग्ने नै भयो ।
पत्र पढ्दा खुशी सँगसँगै म निकै उद्देलित, तरंगित, भावुक र गंभीर भएँ । पत्रलाई तपाई र मेरो व्यक्तिगत मामिलाको रुपमा नबुझेर नेपाली परिश्रमी युवाहरुले देशका नेताहरुबाट गर्ने अपेक्षा र भावनासँग जोडेर बुझेको छु । पत्रका लागि भाइलाई धन्यवाद ।
विवश कमरेड
हामीले जनयुद्ध लड्यौं । नेपालको सामन्तवादी र दलाल पुँजीवदी राज्यसत्तालाई आमुल परिवर्तन गरेर देशमा जनताको राज्य सत्ता नयाँ जनवाद र वैज्ञानिक समाजवाद स्थापना गर्ने सोच्यौं । हामीले नेपाली जनतालाई र नेपाललाई मुक्त गरेर यो सदाब्दीमा नयाँ मानव सभ्यताको थापना गर्ने सोच्यौं । तपाइले भन्नु भए जस्तै अकथनीय विपत्तिहरु झेल्यौं । वास्तवमा हामीले विजय हासिल गर्दै पनि बढ्याैँ ।
यी सवै कुरा गलत थिएनन् र गलत हुने पनि छैनन् । यी हामी लड्नेको मात्र नभइ नपाली जनता र विश्वका श्रमिक जनता कै गौरवका विषय हुन् । हामीले गौरव गर्नु पर्दछ । यसमा कुनै पश्चाताप र गुनासो छैन । भयानक धोका, बेइमानी र पीडाका बाबजुद नेपाल आज जहाँ आइपुगेको छ यसका पछाडि जनयुद्धको नै मुख्य हात छ । यसको तुलना नेपाली इतिहासका कुनै पनि घटनासँग हुन सक्दैन ।
यो निश्चित हो कि हाम्रो क्रान्ति, हाम्रो बलिदान र इमान्दारीतामाथि संसदवादी राजनैतिक दलहरुबाट असैह्य घात र बेइमानी गरिएको छ । उनीहरुले स्वाधिन देश र अधिकार सम्पन्न जनता बनाउने सहमतिलाई षड्यन्त्रपूर्ण ढंगले लत्याउने र उल्टाउने काम गरेका छन् । त्यसैगरी प्रचण्ड र बाबुरामले पनि कहिल्यई नपुरिने धोकाको चोट दिएका छन् तर यो राजनैतिक क्रान्ति हो ।
भाई, कहिलेकाही यस्तो हुन्छ । तर धोका, बेइमानी, गद्दारी र घातले इतिहासको अग्रगामी प्रवाहलाई कहिल्यई रोक्न संभव छैन । जनताको रुपान्त्रणकारी चाहनालाई पछि फर्काउन संभव छैन । जार, पोप, च्याङ काईसेकले हजार कोसिस गरे पनि रोक्न सकेनन् भने नेपालका दलालहरुले रोक्न सक्लान भनेर कल्पना गर्न सकिदैन ।
विवश कमरेड
हामी धुलोबाट उठेका छौं । छलकपटको संघर्षबाट निस्केका छौं । गद्दारीलाई पचाउँदै जागेका छौं ।
हामीलाई थाहा छ हामीलाई हराउन खेल खेलियो, नेपाली जनता विशेषतः युवाहरुलाई गुलाम बनाउने चाल चलियो, विश्वकै श्रमिक जनताको प्रेणा बन्न थालेको क्रान्तिलाई निभाएर निराश बनाउने षड्यन्त्र गरियो तर भाई यो अब सम्भव छैन ।
जनताका बैरीहरुका सबै जालहरु पछि परेका छन् र जनता नयाँ अभियानमा लामवद्ध हुन थालिसकेका छन् । हाम्रा युवाहरु थन्काइएका औजारहरु फेरि उठाउन तयार भइसकेका छन् । हामी अर्को इतिहासको निमार्णमा जुटिसकेका छौं । हामीले अठोट गरेका छौं या नेपाली जनताको मुक्ति र सत्ता या वीरतापूर्ण क्रान्तिको निरन्तरता ।
कमरेड
तपार्इको पीडा सहजै बुझ्न सकिन्छ तर पीडामा हुर्केका नेपालीका लागि पीडा ठूलो होइन सपना र अठोट ठूलो कुरा हो । हामी जहाँ भए पनि सपना देख्न छोडनु हुँदैन । अरुले के सोच्छन त्यो पनि ठूलो होइन, हामी के गछौं त्यो ठूलो हो । सत्य र न्यायको लागि अगाडि बढेपछि आशंका र भ्रमहरु विश्वासमा बदलिने छन् ।
मलाई विश्वास छ तपार्इकाे चाहनालाई हामी पूरा गरी छाड्नेछौं ।
धन्यवाद
विप्लव







