नेकपा माओवादीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली “सुदर्शन”ले साम्राज्यवाद विरुद्ध एकढिक्का भएर लड्न एकीकृत जनक्रान्ति आवश्यक भएको बताएका छन् ।

नेता सुदर्शनले साम्राज्यवादी शक्तिहरुले नेपाल र नेपालीको अस्तित्व नामेट पार्न एकीकृत तरिकाले आएकोले त्यसको प्रतिरोध गरी नेपालमा वैज्ञाानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशाको आवश्यकता परेको बताए ।
ओखलढुड्डा–काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मञ्चको छैठौं भेलामा प्रमुख अतिथिको तर्फबाट बोल्दै सुदर्शनले उक्त धारणा राखेका हुन ।
पूँजीवादीहरुले मजदुरलाई संगठित हुन नदिन फरक फरक ठाँउमा माल उत्पादन गर्ने र एकै ठाउँमा राखेर बेच्ने गरेको प्रसड्ड उल्लेख गर्दै उनले शोषणको तरिका एकीकृत भएर आएकोले त्यसको प्रतिरोध पनि एकीकृत तरिकाले गर्नुपर्ने बताए ।
आगामी फागुनमा हुन गइरहेको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट नेता सुदर्शनले नेपालमा हुने अबको क्रान्तिको कार्यदिशा हिजोको भन्दा फरक हुने बताए ।
उनले भने, “अब नेपालमा मालेमावादमा विज्ञान र प्रविधिको समेत प्रयोग गरी साम्राज्यवादी शक्तिको विरुद्ध स्वतन्त्रताप्रेमी नेपालीलाई एकीकृत रुपमा सहभागी गराएर क्रान्ति गर्नु पर्छ” ।







