नेत्र विक्रम चन्द विप्लव माओवादीका स्थायी समिति सदस्य धमेन्द बास्तोलाले विद्यमान संविधानको विषयमा निरर्थक छलफल गर्नुभन्दा त्यसलाई च्यातचुत पारेर जानु पर्ने बताएका छन् ।
अहिलेको संविधान प्रतिक्रियावादी जगमा भनेको हुनाले यो संविधानका धारा र उपधारा केलाएर बस्नु समय खेर फाल्नु मात्र भएको भन्दै नेता बास्तोलाले जनगणतन्त्रात्मक संविधानले मात्र देशमा सही निकास दिने बताए ।

सोमबार काठमाडौंमा वैद्य माओवादीद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता बास्तोलाले दलालहरुले निर्माण गरेको संविधानबाट केही पनि नहुँने भन्दै जनगणतन्त्रात्मक संविधानलाई पूर्णता दिनपर्नेमा जोड दिए ।
एक अर्को फरक प्रसँगमा बोल्दै नेता बास्तोलाले सच्चा माओवादीहरु एकताबद्ध भएर जानु पर्ने बताए ।
बास्तोलाले भने- ‘सच्चा माओवादी र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर राष्टिय स्वाधिनताको रक्षाको ग्यारेन्टीसहित जनतन्त्र र जनजीविको सुनिश्चित गर्ने नयाँ संविधान घोषणा गर्नुपर्छ ।’
सोही कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले विद्यमान संविधानलाई मिल्काएर मात्र बन्ने नयाँ संविधानले देशको निकास दिने बताए ।
वर्तमान संविधान प्रतिक्रियावादको प्रतिनिधित्व गर्ने संविधान भएकोले यसको खारेजी गरिनु अनिवार्य भएको भन्दै वैद्यले उत्पीडित वर्ग र जातिलाई अधिकार नदिनेमा कांग्रेस, एमालेभन्दा पनि प्रचण्ड बाबुरामहरु नै अगाडि रहेको आरोप लगाए ।
‘बरु कांग्रेस–एमाले धन्यवादका पात्र छन्, उनीहरुलाई धन्यवाद दिनुपर्छ किनकि तिनले त कमसेकम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासम्म स्वीकारे, ती उनीहरुका नभई माओवादीका एजेन्डा थिए’, वैद्यले प्रचण्ड -बाबुरामप्रति आक्रोशित हुँदै भने- ‘सबै चिज बिगार्ने त हाम्रै पार्टी हो, हाम्रै नेता हुन् जसले जनयुद्धका सम्पूर्ण उपलब्धि ध्वस्त पारे, सबै एजेन्डा छाडे, जनयुद्ध र माओवादी आन्दोलनलाई ध्वस्त बनाए, विस्तारवाद–साम्राज्यवादका सामु आत्मसमर्पण गरे ।’







