आगामी चैत्रभित्र स्थानीय तहको निर्वाचन गरेपछि दाहालले आफूलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने विश्वास लिएका देउवा प्रधानमन्त्री दाहालको पछिल्लो अभिव्यक्तिपछि डगमगाएका छन् ।
स्रोतका अनुसार देउवाले सोमबारै आफूनिकट केही नेतालाई बोलाएर संविधान संशोधन पनि नहुने र दाहालले चुनाव पनि नगर्ने संकेत देखिएको भन्दै दाहालले मुलुकलाई ठूलो संकटतर्फ लैजान खोजेको आशंका व्यक्त गरेका छन् ।

‘दाहालले धोका दिने भए,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘संविधान संशोधन फिर्ता पनि नलिने, अड्चन देखाएर चुनाव पनि नगर्ने नियत देखियो ।’ एमाले नेतृत्वको राष्ट्रवादी सरकारलाई जसरी पनि ढाल्न लागेका विदेशी शक्तिले अँश्वस्त पारेपछि गत असारमा देउवा दाहाललाई प्रधानमन्त्री बनाउन तयार भएका थिए ।
तर, विदेशीकै योजनामा दाहालले धोका दिने र प्रधानमन्त्री पद गुम्ने संकेत पाएपछि देउवा छटपटाउन थालेका छन् । त्यसो त विदेशी शक्तिकै इसारामा दाहालले यसपटक देउवालाई नचाएका हुन् । संसद्को पहिलो र दोस्रो शक्तिबीच फाटो ल्याएर त्यसमा खेल्दै प्रचण्डलाई प्रधानमन्त्री बनाएकाहरू जसरी पनि संविधान कार्यान्वयन रोक्न चाहन्छन् । र, प्रचण्ड पनि त्यसको मोहरा बनिरहेका छन् ।
संविधान कार्यान्वयन रोक्नकै लागि विदेशीको इसारामा दाहालले गत मंसिर १४ गते मध्यरात संसद् सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन् । तराईका भुभागलाई पहाडबाट अलग गरी मधेस प्रदेश बनाउने र अन्ततः नेपाललाई विखण्डन गर्ने ग्रान्ड डिजाइनअनुसार नै संशोधन प्रस्ताव आएको देखिन्छ ।
मधेसका जनता पहाडी जिल्लासमेत भएको प्रदेशको पक्षमा रहँदा रहँदै ८ प्रतिशतभन्दा कम जनप्रतिनिधित्व गर्नेहरूका माग पूरा गर्ने नाममा ल्याइएको संशोधन प्रस्तावले त्यही कुरालाई पुष्टि गरेको छ ।
यसैगरी संशोधन विधेयकमा राखिएको राष्ट्रिय भाषाको टुंगो लगाउने जिम्मा आयोगलाई दिइने भन्ने प्रस्तावमा हिन्दी भाषालाई पनि राष्ट्रिय भाषा बनाउने योजना लुकेको स्पष्टै भएको छ । सीमांकन र भाषाको विषयमा राष्ट्रघात गर्न तयार भएका दाहालको भित्री उद्देश्य मुलुकमा वितण्डा मच्चाउनु नै रहेको देखिन्छ ।
भद्रगोलमा नै गोल गर्नुपर्छ भन्दै आएका दाहालले मुलुकलाई जातीय द्वन्द्वमा लैजाने र भद्रगोल बनाइ अधिनायकवादी शासन ल्याउने सपना अझै त्यागेका छैनन् भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ ।
त्यसैले यतिबेला उनी संविधान निर्माणको एक प्रमुख पक्षका रूपमा रहेको मुलुकको दोस्रो ठूलो दल एमालेलाई बाइपास गरेर जनआधार नै नभएका विदेशीको इसारामा चलेका केही क्षेत्रीय पार्टीको स्वार्थ पूर्ति गर्नेतिर लागेका छन् । दाहालका पछिल्ला गतिविधिले प्रमुख सत्तासाझेदार दल कांग्रेसभित्र उनको विकल्प खोज्नुपर्ने आवाज चर्कंदै गएको छ ।
दाहालको टाउकोमा आशिर्वादको हात राखिदिएका देउवासमेत अब हात झिक्नुपर्ने अवस्था आउन लागेको भनेर आफूनिकटहरूसँग भन्न थालेका छन् ।







