काठमाडौं/संसदीय राजनीतिक पार्टी र संसदीय व्यवस्थाको असफलताका कारण पनि प्रतिगामी शक्ति टाउको उठाउने दुष्प्रयासमा देखिन्छन् र पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति त्यसैको एउटा शृङ्खला हो । यस्तो छ ज्ञानेन्द्रद्वारा प्रेषित विज्ञप्ति –
‘आज हामी जुन माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको द्धलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भुमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउंदै समृद्ध, समून्नत र सूदृढ बनाउनु हाम्रो मुल दायित्व एंव कर्तव्य हो ।
तर वर्तमान अवस्थामा मुल्य (मान्यतामा आधारित राजनीति नहुनू, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको छ ।
नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ । आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शव्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनिरहेको छ ।
निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्टका आधारहरु किमार्थ बलिया हुन सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हुन सक्दैनन् । माटो र मुटुसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाइ दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।
नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि नै हून् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दुर्भाग्यवस आजको सन्दर्भमा बाह्यशक्तिको अनुचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।
अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मनमतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’







