दश वर्षे जनयुद्धमा ठूलो योगदान गरेर केही नपाएपछि धेरै माओवादी योद्धाहरुको ठूलो हिस्सा आजकाल खाडीतिर पलायन भएका छन् त धेरै महिला घाँस दाउरामा फर्किन बाध्य छन् ।

जनयुद्धको छापामार संघर्षमा सहभागी भएकी रुकुमकी दीपा रोका एउटी यस्तो पात्र बन्न पुगेकी छिन् ।
उनले जनयुद्धमा धेरै चिज गुमाएकी छिन् । भर्खरको उर्जाशील युवा जीवन जनयुद्धमा खर्च गरेकी दीपाले जनयुद्धकै बेला पार्टीमा जनवादी विवाह गरिन् ।
तर अफसोच जोसँग उनले जनवादी विवाह गरेकी थिइन, उनी बाग्लुन निवासी चिरन मगर थिए । उनी जनयुद्धका क्रममा जनसेना कमाण्डर समेत थिए । तर उनी युद्धमोर्चामा सहिद हुन पुगे ।
भर्खर केही वर्ष मात्र विवाह भएको समय थियो । विवाहपछि उनीहरुले एउटी छोरी पनि जन्माए । तर सानी दुध खाने छोरीलाई छोडेर बाग्लुनका चिरन युद्धमोर्चामा सहिद बन्न पुगे ।
श्रीमान सहिद भएपछि दीपाले लामो समय एक्लै जीवन व्यतित गरिन् । श्रीमान सहिद भएको केही महिनापछि दीपाद्धारा अभिनय गरिएको एउटा नृत्यले तत्कालीन माओवादीको चुनबान बैठकमा प्रचण्ड बाबुरामलगायत धेरैलाई रुवाएको थियो ।
दीपा माओवादी जनयुद्धमा जिल्ला कलाकारदेखि क्षेत्रीय कलाकारहुँदै केन्द्रीय सामना कलाकारमा समेत रहेर काम गरिन । उनी मीठो स्वरकी राम्रो क्रान्तिकारी कलाकारभित्र पर्छिन् । अहिले भने उनी बाग्लुनमा माओवादी पार्टीकै कलाकार विद्रोहीसँग विवाह गरेर गाउँ फर्कन बाध्य भएकी छिन् ।
उनले हाल फेसबुकका भित्ताहरु प्राय असन्तुष्टी पोख्ने गरेको देख्न सकिन्छ ।







