विश्वविद्यालयबाट आफ्ना विषयमा सर्वाेत्कृष्ट स्थान ल्याउने विद्यार्थीप्रति आम अपेक्षा हुन्छ– उनीहरु स्वदेशमै बसून्, आफ्नै माटोको सेवा गरून्, देशमै केही गरून्। यथार्थ भने त्यस्तो छैन।
उम्दा विद्यार्थी प्रायः यहाँको पढाइ सक्नासाथ बिदेसिन्छन्। यस्तो किन भन्दा प्रायको एउटै जबाफ हुन्छ– हामीलाई स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ, यहाँ अवसर नै छैन, कसरी टिक्नू!

बर्दियाका विष्णु पौडेलले बिहीबार ४२औं दीक्षान्त समारोहमा त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट तीनवटा पदक ग्रहण गरे। त्रिवि क्याम्पस, कीर्तिपुरबाट गणित विषयमा ९५.५ प्रतिशत अंक ल्याई मास्टर्स तहको ‘प्रथम श्रेणीमा प्रथम’ स्थान हासिल गरेका उनले चान्सलर पदक प्राप्त गरे।
२६ वर्षीय पौडेलले सम्पूर्ण मास्टर्स तहमा सर्वप्रथम स्थान हासिल गरी रामप्रसाद मानन्धर स्वर्णपदक र त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्णपदक पनि पाए।
उम्दा विद्यार्थी पौडेल अब देशलाई के दिन चाहन्छन् त? पदक लिइसकेपछि सञ्चारकर्मीसँग उनले भने, ‘देशमा बस्ने वातावरण नै छैन, न यहाँ अवसरै छ, लगत्तै विदेश जाने योजनामा छु।’
बिहीबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई तीनवटा पदक प्रदान गरे।
कुलपति दाहालले दीक्षान्त समारोहमा सहभागीलाई आफूले पाएका ज्ञान र सिप सम्बन्धित क्षेत्रमा इमानदारी र होसियारीसाथ स्वदेशमै प्रयोग गर्ने/गराउने प्रतिज्ञा गराउँदै थिए। सर्वोत्कृष्ट विद्यार्थी भने अधिकांश त्यसविपरीत बिदेसिने तयारीकै विषयमा गमिरहेका भेटिन्थे।
‘म स्कुलदेखि स्नातकोत्तरसम्मै उत्कृष्ट हुँदै आएको छु,’ पौडेलले नागरिकसँग भने, ‘तर मैले आफ्नो दक्षता र क्षमता प्रयोग गर्ने सही स्थान र अवसर पाइनँ। एउटा निजी विद्यालयमा प्लसटुका विद्यार्थीलाई न्यून तलबमा पढाएर जीवनयापन गर्दै छु।’
किसान परिवारका कान्छा सन्तान पौडेलले अमेरिका जाने प्रक्रिया थालिसकेको सुनाए। गोल्ड मेडलिस्टलाई स्वदेशमा सम्मान नभए पनि विदेशमा सम्मानपूर्वक अवसर दिएर बोलाइने उनी सुनाउँछन्।
‘अन्य विद्यार्थीलाई विभिन्न स्थानमा आरक्षण कोटा छ तर हामीजस्तो उत्कृष्ट र मेडल हासिल गरेका विद्यार्थीका लागि अवसर र सम्मान केही छैन,’ उनले गुनासो गरे, ‘विदेशले बोलाउँछ, स्वदेशले धपाउँछ हामीलाई।’
सरकारले उत्कृष्ट विद्यार्थीको सिप र दक्षतालाई कदर गरी स्वदेशमै प्रयोग हुने वातावरण कानुनी रुपमै बनाउनुपर्ने उनको सुझाव छ।
पौडेल मात्र होइन, धनगढीका पंकज अधिकारी पनि राजनीतिशास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट विशिष्ट श्रेणीमा राजनीतिशास्त्रतर्फ सर्वप्रथम भए। त्यसबापत उनले बिहीबारै ललितचन्द र बडाकाजी मरिचमानसिं पदक प्राप्त गरे। उनको पनि तयारी उस्तै छ। अधिकारीले पुस १७ गते अस्ट्रेलिया उड्ने भिसा प्राप्त गरिसकेका छन्।
‘अस्ट्रेलियाको मेलबर्नस्थित युनिभर्सिटी अफ मेलबर्नले मलाई ८० प्रतिशत छात्रवृत्ति दिएर विद्यावारिधिमा भर्ना लिइसकेको छ। भिसा पनि लागिसक्यो,’ दुई पदक प्राप्त गरेका पंकजले अनुभव सुनाए, ‘हाम्रा विश्वविद्यालयमा इन्टरनेसनल ल विषय भए पनि विद्यावारिधिका लागि राम्रो अनुसन्धान गर्ने व्यवस्था छैन।’
विष्णु र पंकजजस्ता थुप्रै पदकप्राप्त विद्यार्थी बिदेसिने तरखरमा छन्।

कीर्तिपुरकी सुस्मिता पौडेलले समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्यम्पस कीर्तिपुरबाट एमए समाजशास्त्र/मानवशास्त्र विषयमा ६५.२ प्रतिशत अंकसहित प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरिन्। त्यसैले उनलाई सुमन रिजाल पदक दिइयो। उनी पनि अवसर र थप शिक्षा हासिल गर्न अस्ट्रेलिया जाँदैछिन्।
ललितपुरका राजिन्द्र नापितले एमएससी जैविक प्रविधि विषयमा ८६.२ प्रतिशत अंक प्राप्त गरी विशिष्ट श्रेणीमा सर्वप्रथम स्थान हासिल गरे। त्यसैले उनलाई डा. रेखा र लक्षमैयाँ श्रीरामा स्वर्णपदक प्रदान गरिएको छ। बायोटेक्नोलोजी नेपालमा पठनपाठन गराइए पनि सरकारी निकायले यसको महŒव बु‰नै नसक्नु नै यस क्षेत्रमा उत्पादित जनशक्तिका लागि चुनौती भएको उनको ठहर छ। उनले पनि अवसर र थप शिक्षा हासिल गर्न अमेरिका जाने तयारीमा रहेको सुनाइन्।
‘मेडल त पाएँ तर हाम्रालागि नेपालमा अवसर छैन,’ २७ वर्षीय नापितले अनुभव सुनाए, ‘आफ्नो क्षमताको भरमा यहाँ काम नपाइने रहेछ, बायोटेक्नोलोजीलाई सरकारले चिनेन।’
४२औं दीक्षान्त समारोहमा ०७२ जेठ १८ गतेदेखि ०७३ असार १ अवधिमा त्रिविका पाँच अध्ययन संस्थान, चार संकाय अन्तर्गतका ६० आंगिक क्याम्पस र १ हजार ८४ समबन्धन प्राप्त कलेजका ८३ हजार ४ सय २५ विद्याथी दीक्षित हुन योग्य ठहरिए। स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिका योग्य ठहरिएका मध्ये ९ हजार ७ सय ३४ इच्छुक विद्यार्थी मात्र यस समारोहमा सहभागी थिए।
प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले राज्यको असमान नीतिका कारण शिक्षामा समेत सम्पूर्ण नेपालीको समान हक हुँदाहँुदै पनि जातिभेद र वर्गभेद उत्पन्न भइरहेकोमा दुःख व्यक्त गरे। उनले शैक्षिक उन्नति र आर्थिक उन्नति नै आजको प्रमूख आवश्यकता रहेको औंल्याए। ‘विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको मुख्य काम देशको विशेषताअनुसार अध्ययन अनुसन्धान गरी नयाँ ज्ञान प्राप्त गर्नु नै हो,’ उनले सुझाए, ‘त्यसैले यस्ता केन्द्र साधनसम्पन्न हुनुपर्छ।’
नागरिक दैनिकबाट







