नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले विराटनगरमा रहेको भारतीय कन्सुर अफिसलाई तुरुन्त हटाउन भारतलाई अल्टिमेटममूलक चेतावनी दिएका छन् ।

विराटनगरमा बसेर भारतले नेपालको सार्वभौमिकतामाथि षडयन्त्र गरेको भन्दै महासचिव विप्लवले कन्सुर अफिस तत्काल बन्द नगरे नेपाली जनताले आन्दोलनको बलबाट हटाउने चेतावनी दिए ।
आज राजधानीमा तीन कम्युनिस्ट पार्टीले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा महासचिव विप्लले भारतको योजना र स्वार्थमा अगाडि आएको अपर कर्णालीलाई पनि तुरुन्त खारेज गर्नु पर्ने बताए ।
नेपालको जलस्रोत कव्जा गरेर भारतले आफ्नो स्वार्थ पूरा गर्न खोजेको भन्दै त्यसका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन चलाउने उदघोष गरे ।
त्योभन्दा अगाडि आफुहरुले अपर कर्णालीका विरुद्ध सुर्खेतमा विरोध कार्यक्रम गर्ने त्यसबाट भारत पछाडि नहटे अझ ठूलो संघर्षका कार्यक्रम गरिने विप्लवको भनाई थियो ।
भारतले नेपालका केही सत्ताधारी दलहरुलाई किनेर सिङ्गो नेपाली जनतामाथि लूट मच्चाउन खोजेको भन्दै भारतीय षड्यन्त्रलाई कुनै पनि हालतमा पराजित गरिने विप्लवको दावी थियो ।
राष्ट्रियताका निम्ति सिङ्गो जनता र वुद्धिजीविहरु सडकमा आउनु पर्छ भन्दै विप्लवले त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।
आजको अन्तरक्रिया विप्लव नेतृत्व माओवादी, मोहन वैद्यको माओवादी र मोहन विक्रम सिंहको मसालको आयोजनामा भएको थियो ।








