नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रियताका निम्ति आवश्यक परे आफ्नो पार्टी सशस्त्र संघर्ष गर्न तयार रहेको बताएका छन् ।
नेपालको राष्ट्रियतामा ठूलो संकट आएको भन्दै अध्यक्ष वैद्यले त्यसका विरुद्ध सशस्त्र संघर्ष वा दीर्घकालीन जनयुद्ध लडिने बताए ।

आज राजधानीमा विप्लव माओवादी, उनी नेतृत्वको माओवादी र मोहन विक्रम सिंहको मसालको आयोजनामा भएको ‘जलस्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधिनता’ विषयक अन्तरक्रिया कार्यक्रममा वैद्यले यस्तो बताएका हुन् ।
नेपालमा भारतीय हस्तक्षेप निकै मािथबाट बढेर गएको भन्दै वैद्यले भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय मुक्ति युद्ध आवश्यक रहेको बताए ।
वैद्यले नेपालमा रहेका सबै विदेशी लगानीमा रहेका परियोजनाहरु बन्द गरिनु पर्ने पनि बताए ।
नेपालमा धेरै राजनीतिक पार्टीहरुले राष्ट्रियतालाई बेचेर खाने संस्कृति बढेर गएको भन्दै वैद्यले यसका विरुद्ध पनि भण्डाफोर अभियान संचालन गर्नु पनेए बताए ।
कुनैबेला कांग्रेसले कोशी र गण्डकी सन्धि गरेको, एमालले महाकाली सन्धि गरेको इतिहास खोतल्दै वैद्यले कांग्रेस एमालेभन्दा पनि तल झरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रघाती सन्धि गरेको आरोप लगाए ।
देशका प्रमुख दलहरुले राष्ट्र र राष्ट्रियतामाथि गरेको गदारीका विरुद्ध आफुहरुले सधै संघर्ष गर्ने बताए ।
कार्यक्रममा नेकपा मसालका नेता हिमलाल पुरी, जलस्रोतविद दीपक ज्ञवाली, रत्नसागर श्रेष्ठ र रत्न भण्डारीलगायतले पनि बोलेका थिए ।







