जानकी दहित ,दाङ्ग,पुस १७ गते
बलबहादुर केसी ‘सितल’लाई सर्वसम्मत सेक्रेटरीमा निर्वाचित गर्दै ५५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै आज नेकपा (माओवादी) दाङ्गको आठौं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबारदेखि भएको सम्मेलनले २९ सदस्यीय विशेष समिति र १४ सदस्यीय जिल्ला सल्लाहकार समिति चयन गरेको छ । साथै सम्मेलनले ५ बुँदे घोषणापत्र जारी समेत गरेको छ ।
२ दिनसम्म चलेको सम्मेलनको निर्णय सार्वजनिक गर्न आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी) स्थायी कमिटी सदस्य सुदर्शनले पार्टी केन्द्रको स्पिरिट अनुसार सानो कमिटी निर्माणसँगै पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई आगामी महाधिवेशनले थप विकास गर्ने बताए ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद नै हो भन्ने ठोकुवा गर्दै उनले आफूहरुले कार्यदिशाको थप विकास गर्न लागी परेको बताए ।
कार्यक्रममा नवनिर्वाचित पार्टीका जिल्ला सेक्रेटरी सितलले सबै क्षेत्रमा देखिएको बेथितिविरुद्ध कडा रुपमा संघर्ष गर्ने बताए । संसदवादी दलहरुले राष्ट्रियता विरोधी गतिविधि संचालन गरिरहेको भन्दै राष्ट्रियताको पक्षमा सक्रिय रुपमा संघर्ष गर्न आम नेता कार्यकर्तालाई आह्वान गरे ।
दाङ्गमा रहेका सिमेन्ट फ्याक्ट्री र राज्यबीच भएकाे सम्झौता कार्यान्वयन गर्न जोडदार माग समेत गरे ।
यसैबीच सोही कार्यक्रममा आजै विभिन्न पार्टी परित्याग गरी २ दर्जन बढिलाई नेकपा (माओवादी) मा प्रवेश गराइएको छ । नवप्रवेशीहरुलाई पार्टी स्थायी समिति सदस्य सुदर्शनले टिका लगाएर प्रवेश गराएका थिए ।

सम्मेलनलाई संवोधन गर्दै स्थायी समिति सदस्य सुदर्शन

सम्मेलनमा सहभागी प्रनिनिधिहरु







