प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता माधव कुमार नेपालले केहि दल र नेताहरुको स्वार्थमा संशोधन प्रस्ताव ल्याइएको भन्दै जनताको हितमा नरहेको संशोधन पारित हुनै नसक्ने दाबी गरेका छन्।

बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तर सम्वाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले यस्तो दाबी गरेका छन्।
उनले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डमा राज्य सञ्चालनको अनुभव नभएको आरोप लगाए। नेता नेपालले थपे,‘प्रचण्डजीलाई राज्य सञ्चालनको कम अनुभव छ, शेरबहादुर देउवा सत्ता सञ्चालनमा पाको हुनुहुन्छ तर उहाँपनि प्रचण्डको गलत क्रियाकलाप हेरेर बसिरहनु भएको छ । उहाँले गलत कुरालाई रोक्न सक्नुपर्छ।’
उनले नेपालीहरुले विभाजन नभएर एकता चाहेको बताउँदै भने,‘सम्पूर्ण नेपालीहरु हिमाल, पहाड र तराईमा मिलेर बस्न चाहन्छन् ।–विखण्डन गर्छु भन्नेहरुलाई यो सरकारले केहि गर्न सकेको छैन । उनीहरु खुलम्खुल्ला हिँडिरहेका छन् । अरु देशमा भएको भए त्यस्तामाथि कडा कारबाही हुन्थ्यो ।
फरक प्रसँगमा उनले आफ्नो पार्टीले लिएको अडान राष्टिय हितमा रहेको कुरा सर्वोच्च अदालतले पुष्टि गरेको समेत बताए । उनले अघि भने,‘आगामी ०७४ माघ ७ गतेभित्र चुनाव नभए देश संवैधानिक संकटमा फस्छ । तिनै तहको निर्वाचन गर्ने कुरामा जोडतोडका साथ लागिपर्नुपर्छ ।’
उनले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुन बाट बचाएको समेत दाबी गर्दै भने,‘देश सबै जातजातीको फुलबारी हो, ५ नम्बर प्रदशेबाट सुरुवात गरेर देशलाई द्धन्द्धमा फसाउने खेल थियो, त्यसलाई सर्वोच्चले रोक्ने काम गरेको छ ।’







