सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रभित्र सरकारको रक्षा गर्ने नेताको नै खडेरी परेको छ ।
प्रधानमन्त्री बन्नुअघि केन्द्रका अध्यक्ष प्रचण्डले जसको सबैभन्दा बढी भर गरेका थिए, तिनै नेता अहिले उनको पक्षमा नदेखिएपछि प्रचण्ड पार्टीभित्रै एक्ला जस्तै भएका छन् ।

माओवादी केन्द्रमा वरिष्ठताको वरियताका हिसावले प्रचण्डपछिका नेताका रुपमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, वर्षमान पुन, शक्ति वस्नेत, पम्फा भुसाल आदि मानिन्छन् ।
यीमध्ये श्रेष्ठ, रायमाझी र वस्नेत प्रचण्ड नेतृत्वमा सरकार बनाउने कुरामै असन्तुष्ट थिए ।
त्यो वेला श्रेष्ठले बालुवाटारमा पुगेर तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग जसरी हुन्छ तपाईकै सरकारलाई निरन्तरता दिनुपर्छ, प्रचण्डलाई प्रधानमन्त्री कुनै हालतमा बनाउनु हुँदैन भनेर खुसामद गर्दा अर्को कोेठामा प्रचण्ड ओलीको टाइम कुरेर बसिरहेका थिए ।
रायमाझी र बस्नेतले पनि खुलेर सरकार परिवर्तनको विरोध गरेका थिए । त्यो थाहा पाएरै प्रचण्डले सरकार सञ्चालनमा पार्टीभित्रबाट सबैभन्दा बढि भर एकता प्रक्रियाबाट आएका थापा र भुसालले गरेका थिए । थापाले एकता प्रक्रियाको नेतृत्व गरेको र भुसाल प्रवक्ता भएका नाताले पनि सहभागी गराउने गरेका थिए ।
तर, पछिल्लो समयमा दुई दलीय, सर्वदलीय त्यस्ता बैठकहरुमा थापा र भुसाल कहीँ पनि देखिएका छैनन् । माओवादीनिकट स्रोतका अनुसार ‘बालुवाटारले हाम्रा कुरा सुनेन भनेर एकता प्रकृयाबाट आउका नेताहरु प्रचण्डसँग रुष्ट छन्, त्यही भएर वार्ता, छलफलहरुमा उनीहरु सहभागी नभएका हुन् ।’
आफ्नो नेतृत्वमा सरकार गठन भएकोमा श्रेष्ठ खुसी छैनन् भन्ने थाहा पाएरै प्रचण्डले उनलाई सरकार संचालन संयन्त्रको संयोजक बनाएका थिए । तर, उनी सरकारसँग सन्तुष्ट नभए पनि देखिन मात्र बैठकमा जाने गरेका छन् ।
अहिले सरकारको पक्षमा प्रचण्डबाहेक माओवादी केन्द्रभित्र कृष्णबहादुर महरा र वर्षमान पुन मात्र छन् तर पछिल्लो पटक प्रचण्डले केही भेटमा महरालाई पनि सहभागी नगराउने गरेको बताइन्छ ।







