सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)मा संगठनलाई कस्तो बनाउने भन्नेबारे अर्को सैद्धान्तिक लफडा शुरु भएको छ ।

आन्तरिक निर्वाचन र संगठनात्मक कार्यविवधिका बारेमा बिहीबार छलफल गर्न बसेको केन्द्रीय कार्यालय बैठकमा पार्टी संगठनलाई समावेशी लोकतन्त्रमा आधारित बनाउने कि समाजवादी (कम्युनिस्ट) मोडेलको बनाउने भन्ने विषयमा तीव्र विवाद भएको पेरिसडाँडा उच्च स्रोतको भनाई छ ।
गाउँदेखि जिल्लासम्मको अधिवेशनका लागि संगठनात्मक कार्यवधि बनाउन गठित वर्षमान पुन नेतृत्वको कार्यदलले बुझाएको कार्य्विधिमाथि संगठन विभागले छलफल गरी केन्द्रीय कार्यालयले पारित गर्न भन्दै बैठक बसेको थियो ।
बैठकमा सहभागी नेताहरू कार्यदलले पेस गरेको कार्यविधिलाई लिएर विभाजित देखिएका छन् ।
बैठकमा कार्यदलले पेस गरेको आन्तरिक निर्वाचन र संगठनात्मक कार्यविधिमा आवश्यकताभन्दा बढी समावेशीतालाई प्राथमिकता दिइएको भन्दै केही नेताले असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए ।
‘कार्यदलले पेस गरेको कार्यविधि अलिक बढी नै समावेशी भएको भन्दै केही नेताले असन्तुष्टि जनाउनुभयो’ ती नेताले भने– ‘पार्टी संगठन समावेशी पनि र समाजवादी मोडेलको पनि हुनुपर्नेमा उहाँहरूको जोड रह्यो ।’
पुस अन्तिम साता सुरु हुने आन्तरिक निर्वाचनका लागि तयार पारिएको कार्यविधि बिहीबारको बैठकले पारित गर्ने तयारी थियो । तर, संगठनात्मक कार्यविधिमा नेताहरू विभाजित हुँदा पारित हुन नसकेको स्रोतले जनाएको छ ।
‘कार्यविधि आजै (बिहीबार) पास गर्ने तयारी थियो तर नेताहरू विभाजित हुँदा रोकियो’, स्रोतले भन्यो– ‘शुक्रबार बस्ने बैठकले यो विषयलाई टुंगो लगाउनेछ ।’
कार्यविधिमा कम्युनिस्ट सिद्धान्तभन्दा बढी समावेशितालाई जोड दिइएको भन्दै यस विषयले कहिले निक्र्योल पाउने हो, त्यो निश्चिित नभएको स्रोतको दाबी छ ।







