सरकारको विपक्षमा रहेको नेकपा एमालेसहित ९ दलले आयोजना गरेको आजको शक्ति प्रदर्शनमा बोल्ने नेताहरुले प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमार्फत नेपाललाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाएका छन् ।

विपक्षी ठूलो दल एमालेभन्दा साना दलले निकै चर्को स्वरमा प्रचण्ड राष्टघाततिर गएको आरोप लगाए ।
नाम नसुनिएका दल एक नेताले प्रचण्ड नेपालमा लेण्डुप दोर्जे बन्न खोजेको गंभीर आरोप लगाए । नेपाल परिरवार दलका नेताले संविधान संशोधनमार्फत प्रचण्डले देश विखण्डन गर्न खोजेको आरोप लगाए ।
राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा प्रचण्ड संविधान संशोधनमा गएको बताए ।
नेमकिपाका अध्यक्ष प्रेम सुलवालले नेपालमा भारतले यसअघि ४० लाख नागरिकता हात पारेको भन्दै संविधान संशोधनमार्फत फेरि त्यही स्थिति दोहर्याउन खोजेको बताए ।

कार्यक्रमको अन्तिम वक्ता एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनमार्फत सत्ताधारी दलले जुवा खेल्न खोजेको आराप लगाए ।
‘कौडा खेल्दा कौडाको होइन सम्पतिको नाश हुन्छ । तास खेल्दा जित्नेले तासको पत्ता होइन सम्पति नै लान्छ ।’ ओलीले भने- ‘हो अहिले संविधान संविधानमार्फत त्यही कौडा खेलिदैछ । हामी त्यसलाई असफल पार्नेछौं ।’
ओलीले मधेशवादी दलले मधेशमा गर्न खोजेको तमासा अनौठो भएको भन्दै धेरै फुर्ती नदेखाउन चुनौति दिए ।
आजको शक्ति प्रदर्शनमा २० देखि २५ हजार मान्छे सहभागी भएको विश्लेषकहरुले विश्लेषण गरेका छन् ।







