नयाँ शक्तिका संयोजक डा. बाबराम भट्टराईमाथि नयँ शक्तिकै केन्द्रीय निर्मल भट्टराईले कडा असहमति पत्र लेखेका छन् ।
बाबुरामले लिएका विचारलाई कडा रुपमा आलोचना गर्दै निर्मलले आफुले दिएको सुझाव मनन गर्न सुझाएका छन् । कयौं सैद्धान्तिक विषयमा बाबुरामलाई चुनौती दिनेगरी निर्मलले दिएको असहमतिले अब उनको बाबुरामसँग सम्वन्धविच्छेद हुने आंकलन समेत गरिएको छ ।
हेरौं उनै निर्मल भट्टराइले बाबुरामलाई दिएको कडा चुनौतीपूर्ण पत्रको पूरा अंश (सम्पादनसहित) ।

श्री डा. बाबुराम भट्टराईजी,
तपाई तत्कालीन एमाओवादी पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेकेै दिनबाट म पनि यो अभियानमा सामेल भएको हुँ । मैले बुझेसम्म माक्र्सको द्वन्दात्मक ऐतिहासिक भौतिकवाद मान्ने , पाँच “स”लाई नयाँ शक्तिको सैद्धान्तिक प्रस्थान विन्दु मान्ने, प्रत्यक्ष लोकतन्त्रको मान्यता अनुरुप पार्टी सञ्चालन गर्ने, प्रत्यक्ष कार्यकारी राष्ट प्रमुख वा सरकार प्रमुखको व्यवस्था ल्याउन राजनीतिक अभियान सञ्चालन गर्ने नयाँ शक्तिका हालसम्मका सर्बस्वीकृत अवधारणा हुन् ।
तर त्योभन्दा फरक तपाईले हालसालै व्यक्त गर्नु भएका केही विचारमा सङ्गति नदेखिएकोले सार्वजनिक रुपमा ध्यानाकर्षण गर्ने दुस्साहस गरेको छु । आशा एवम् विश्वास छ, तपाई मसंग रिसाउनु हुने छैन किनभने तपाई जस्तो विद्वान राजनेताले सकारत्मक ढङ्गले गरिएका आलोचना कहिलेकहीं अमृत सरह हुनसक्छन् र स्वार्थप्रेरित प्रशंसा विषजस्ता हुन्छन् भन्ने पूर्वीय साहित्यको एक भाव पढ्नु भएकै हुनुपर्छ ।
१) तपाईंलाई थाहा छ —माओवादी आन्दोलनले उठाएको संघीयताको अवधारणामा केही खोट छ । प्रदेशको नामाकरण र सीमाङ्कन जातीय पहिचानको आधारमा गरेर नेपालको समस्या तपाईंले भने जसरी समाधान हुन्छ जस्तो मलाई लाग्दैन । यो विषय जनताले मन नपराएरै पछिल्लो संविधानसभा निर्वाचनमा माओवादीलाई मत दिएनन् । यो तथ्य बुझ्दा बुझदै महादेवले सतिदेवीको लास बोकेजस्तो गरी तपाई किन यही अजेण्डाको पक्षपोषण गर्दै हुनुहुन्छ ?
२) बेला बेला तपाई खस आर्य समुदायलाई चिढ्याउने अभिव्यक्ति दिनुहुन्छ । सबै दोष उनीहरुको टाउकोमा हाल्नुहुन्छ । जनजाति, मधेशी, थारुका हक अधिकारको कुरा ईतिहास र बर्तमानमा समेत देश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको खस आर्य समुदायलाई नचिढ्याई गर्न सकिदैन ? तपाईजस्तो नेताले यस्तो गल्ति नदोहोर्यादा देशको हित होला ।
३) अक्तियारमा लोकमानको नियुक्ति गराउन तपाईले खेलेको भूमिका एउटा एतिहासिक भूल थियो । उनलाई महाअभियोग लगाए पछि“व्यक्ति हटाएर केही हुदैन, प्रणाली फेर्नु पर्छ” भन्ने तपाईको ट्वीट जनताले पटक्कै मन पराएनन् । यो विषयमा सार्वजनिक आत्माआलोचना गर्दा तपाईंको उचाई बढ्छ । पार्टीको पोजिसनल राम्रो हुन्छ ।
४) तपाई टोपी दिवसजस्तो अति सामान्य विषयमा अनावश्यक टिप्पणी गर्नुहुन्छ । नेपाली जनताले लगाउने परम्परागत असंख्य परिधानको यसै गरी टिप्पणी गरेर साध्य होला ? कतिपय यस्ता विषयमा तपाईंको मौनता अपेक्षित छ ।
उही तपाईको,
निर्मल भट्टराई
सदस्य
केन्द्रीय परिषद
नयाँ शक्ति पार्टी, नेपाल







