नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले जनयुद्धका सपनामाथि प्रचण्डले ठूलो गद्धारी गरेको बताएका छन् ।

आज काठमाडौंमा सहिद रचना प्रकाशन केन्द्रद्धारा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले जनयुद्धको सपना नयाँ जनवादी व्यवस्था भएको तर प्रचण्डले त्यो सपना भुलेर संसदीय व्यवस्थाका सामु आत्मसमर्पण गरेको बताए ।

‘हामीले जनयुद्ध थालनी गर्दा त्यसको लक्ष्य नयाँ जनवादी व्यवस्था थियो । तर दश वर्षपछि प्रचण्ड उही संसदीय व्यवस्थामा फर्किए ।’ प्रकाण्डले भने- ‘जनयुद्धका लक्ष्य भुलेर प्रचण्डले ठूलो अपराध गरेका छन् । त्यसको एकदिन इतिहासले मुल्यांकन गर्नेछ ।’

जनयुद्धका सहिद परिवारहरुद्धारा आयोजित कार्यक्रममा प्रकाण्डले प्रचण्डले क्रान्तिलाई धोका दिएर गद्धारी गरेपनि आफ्नो पार्टीले सहिदको सपनालाई कुनै पनि हालतमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्रान्तिको पूर्णताले मात्र सहिदको सपना पूरा हुने प्रकाण्डको भनाई छ ।

‘जसले क्रान्तिकारी विचार र क्रान्तिको बाटो समाउँछ, उसले कुनैपनि हालतमा सहिदका सपनामाथि गद्धारी गर्दैन ।’ उनले भने- ‘हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको बाटोबाट नेपाली क्रान्ति र जनयुद्धका सपना पूरा गर्नेछ ।’

तीन माओवादी नेताहरुको सहभागिता रहेको सो कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण र माओवादी केन्द्रका नेता लोकेन्द्र बिष्टले पनि बोलेका थिए ।

कार्यक्रममा विप्लव माओवादीका नेता कार्यकर्ताको ठूलो उपस्थिति रहेको सो कार्यक्रममा सहिद परिवारको सदस्यहरुले जनयुद्धलाई बीच सडकमा ल्याएर अलपत्र पारेकोमा आक्रोश व्यक्त गरेका थिए ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार