दश वर्षे जनयुद्धमा बलिदान गरेका सहिदहरुको सपनामाथि अपमान भइरहेको पीडा सहिद परिवारका सदस्यहरुले पोखेका छन् ।

सहिद परिवार सदस्य खिमा रिजाल

राजधानीमा आज आयोजित एक कार्यक्रममा उनीहरुले माओवादी नेताहरु पटक पटक सरकारमा गएपनि सहिदहरुको सपना पूरा गर्न नसकेकोमा जनयुद्ध हाँकेको मुख्य नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरे ।

‘जनयुद्धपछि पटक पटक गरेर माओवादी नेताहरु सरकारमा गए, तर खै सहिदको सपना पूरा भएको ?’ सहिद परिवार सदस्य खिमा रिजालले भनिन्- ‘तीन तीन  पटक सरकारमा पुगेर पनि माओवादी नेताहरुले सहिदलाई भुलेर सत्तामा मात्र रमाउन पुगे ।’

माओवादी नेतृत्वबाट प्रचण्ड र बाबुरामहरु पालैपालो सरकारको नेतृत्वमा पुगेपनि जनयुद्धका सहिदहरुलाई नेपाल सरकारको तर्फबाट सहिद घोषणा समेत नहुनु निकै दुखद पक्ष भएको सहिद परिवारका सदस्यहरुले सोही कार्यक्रममा आक्रोश व्यक्त गरे ।

जनयुद्धमा सहिदहरुको बलिदानबाट माओवादी आन्दोलन यो ठाउँमा आइपुगेको तर नेतृत्वहरुले दिएको धोका र विश्वासघातका कारण सहिद परिवार अलपत्र परेको उनीहरुको गुनासो थियो ।

‘हामी सहिद परिवारका सदस्यहरु सडकमा अलपत्र परिरहेका छौं ।’ सहिद परिवार सदस्य खिमा रिजालको आक्रोश थियो- ‘खोई हामीलाई माओवादी नेतृत्वले हेरेको ? कहाँ छ माओवादी नेतृत्व ?’

अहिले सहिदको सपनामाथि खेलवाड भएपनि अब कसैले गर्ने नयाँ क्रान्तिबाट सहिदको सपना पूरा गर्छ भने आफुहरुले त्यसलाई सकारात्मक रुपले हेर्ने सहिद परिवार सदस्यहरुको भनाई थियो ।

सहिद परिवार अर्का सदस्य

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार